पूर्वी नवलपरासीको अरुणखोलामा मुख्य कार्यालय रहेको नवप्रतिभा बचत तथा ऋण सहकारी संस्थाले नवलपरासी पश्चिम सेवा केन्द्रमा २५ औं वार्षिक साधारण सभा आइतबार भुमहिमा सम्पन्न गरेको छ । साधारण सभामा अध्यक्षको प्रतिबेदन, सचिवको साँगठानिक प्रगति प्रतिबेदन, कोषाध्यक्षको लेखा प्रतिवेदन र लेखा सुपरिवेक्षक समितिको प्रतिवेदन सर्व सम्मतले पास भएका छन् ।
संस्थाले गत आब ०७८।०७९ मा संचालन नाफाको रुपमा १२ करोड १२ लाख ४९ हजार ५२४ आम्दानी गर्न सफल भएको संस्थाका कोषाध्यक्ष कौशिला सापकोटाले जानकारीले नेपाली चेलीलाई जानकारी दिनुभयो । कोषाध्यक्ष सापकोटाले संस्थालाई अझ सुदृढ र दीगो वनाउन साथै कर्मचारी तथा सदस्यको क्षमता अभिबृद्धिकालागि विभिन्न प्रकृतिका ३३ वटा कार्यक्रम संचालन गर्ने लक्ष्य रहेको वनाउनु भयो ।
संस्थाका उपाध्यक्ष कृष्ण वहादुर चौधरीको अध्यक्षता तथा सुनवल नगरपालिकाकी नगर प्रमुख विमला अर्यालको प्रमुख आतिथ्यमा साधारण सभा भएको हो । साधारण सभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि अर्यालले महिलाहरुलाई उद्यमशिल तथा आत्मर्निभर बनाउने वातावरण सहकारीले प्रदान गर्नु पर्ने बताउनु भयो । वहाँले सहकारी राम्रो हुँदा सदस्यहरुको हितमा काम गर्न सकिने बताउनु भयो । बैंकसँगको कारोबारमा बैंकलाई मात्र फाइदा हुन्छ भने सहकारीसंगको सम्बन्धले सदस्य आफैलाई फाइदा हुने हुँदा कारोबारकालागि सहकारी संस्था नै रोज्न वहाँले आग्रह गर्नु भएको छ ।
सो अवसरमा रामग्राम नगरपालिकाकी नगर उपप्रमुख सम्झना चौधरी, संस्थाका संस्थापक अध्यक्ष तथा प्रमुख कार्यकारी निर्देशक रामप्रसाद काफ्ले, जिल्ला सहकारी संघ नवलपरासीका अध्यक्ष विष्णु प्रसाद पाण्डे, सुनवल नगरपालिका वडा नंं. १ का वडाध्यक्ष मन बहादुर थापा मगर, पवन मा.वि परासीको प्रधानाध्यापक अरविन्द पाठक लगाएतले मन्तब्य राख्नुभएको थियो ।
सो अवसरमा जेष्ठ नागरिक, सस्थाको उत्कृष्ट बचतकर्ता, उत्कृष्ट उधमी, उत्कृष्ट शेयर सदस्य, गरिब तथा जेहेन्दार विद्याथिहरु लगाएतलाई सम्मान गरिएको सहायक महा प्रबन्धक विमला पाठकले जानकारी दिनु भयो ।