स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आ.ब.२०८०।०८१ कालागि थप २ वटा अस्पतालमा जेष्ठ नागरिक (जेरियाट्रिक) वार्ड थप गरेको छ । जेष्ठ नागरिक मैत्री सेवा उपलब्ध गराउने उद्देश्यले गत बर्षबाटै संचालनमा रहेको सेवालाई थप २ वटा अस्पतालबाट सेवा दिने निर्णय भएको मन्त्रालयले जनाएको छ । थप २ वटा अस्पतालबाट सेवा दिने निर्णयसँगै देश भर ६२ वटा अस्पतालले जेष्ठ नागरिक मैत्री स्वास्थ्य सेवा प्रदान गर्ने छन् ।
बाग्मती प्रदेशको नरदेवी आयुर्वेदिक अस्पताल काठमाण्डौ र किर्तिपुर बर्न अस्पतालबाट सेवा दिने गरी जेष्ठ नागरिक स्वास्थ्य सेवा संचालन मार्गदर्शन जारि गरिएको हो ।
यता पश्चिम नवलपरासीको पृथ्वीचन्द्र अस्पतालबाट गत बर्ष २०७९।०८० देखिनै सो सेवा संचालनमा रहेको छ । जेरियाट्रिक सेवा भौतिक पूर्वाधारको अभावमा अस्पतालको ओपिडिबाटै संचालन गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा नुरुल होदाले जानकारी दिनु भयो । अस्पतालको १५ नं. कोठाबाट गत बर्षदेखिनै जेष्ठ नागरिकलाई सरल, सहज र सुलभ तरिकाले स्वास्थ्य सेवा प्रदान गरिएको डा. होदाले बताउनु भयो । ६० देखि माथि उमेरका जेष्ठ नागरिकलाई ५० प्रतिशत, ७५ देखिमाथिकालाई ७५ प्रतिशत र ८० देखि माथि उमेर समुहका जेष्ठ नागरिकलाई निःशुल्क सेवा प्रदान गरिएको डा. होदाले वताउनु भयो ।
गत आर्थिक बर्षमा पृथ्वीचन्द्र अस्पतालबाट जेष्ठ नागरिक (जेरियाट्रिक) सेवा लिनेको संस्था १ हजार ३ सय ७५ छ । सुविधा सम्पन्न भवन नहुँदा पनि सेवा ग्राहीहरुले स्वास्थ्य चेकजाँचको लाभ लिन सकेको अस्पतालका डा होदाको भनाई छ ।
यसैगरी अस्पतालमा संचालित सामाजिक सेवा इकाईबाट लक्षित वर्गहरुलाई स्वास्थ्य सेवा प्रवाह गरिएको छ । गत आ.ब.मा गरिब तथा अतिगरिव ९ सय १८ जना, असहाय १ सय १६ जना, अपाङ्गता भएका ५५ जना, महिला स्वास्थ्य स्वयंसेवीका १८ जना, दुर्घटनामा परेका आकस्मिक विरामी ४९ जना गरी जम्मा ११ सय ८३ जनाले स्वास्थ्य सेवा लिएको पृथ्वीचन्द्र अस्पतालमा संचालित सामाजिक सेवा इकाइका संचालक राहुल पटेलले जानकारी दिनु भयो ।