बुद्धशान्ति साझेदारी वन व्यवस्थापन समूहको शनिवार सम्पन्न दोश्रो अधिवेशनले पाल्हीनन्दन ६ निवासी विरेन्द्र प्रसाद चौधरीको नेतृत्वमा १८ सदस्यीय समिति चयन गरेको छ । समितिको अध्यक्षकालागि ३ जनाको उम्मेदवारी परेपछि भएको निर्वाचनबाट चौधरीले ३९ मत प्राप्त गरी विजय हुनु भएको हो । चौधरीसँगै अध्यक्षका प्रत्यासी दिनेश कुमार यादवले २६ मत र निवर्तमान संयोजक चन्द्रमणी चौधरीले ३८ मत पाउनु भएको थियो ।
दोश्रो अधिवेशनले समितिको उपाध्यक्षमा रामग्राम नगरपालिका वडा नं. १८ निवासी तारा नेपाली निर्विरोध निर्वाचित हुनु भएको छ । यस्तै वडा तर्फको सदस्यहरुमा रामग्राम नगरपालिकाका ७ वटा वडाबाट क्रमशः अर्जुन कुमार केवट, चन्द्रशेखर पाठक, लक्ष्मीनारायण चौधरी, रामलखन यादव, संजयकुमार पासी र भागीरथी अहिर निर्वाचित हुनु भएको छ । यस्तै वडा तर्फकै पाल्हीनन्दनका ३ वटा वडाबाट सदस्यहरुमा क्रमशः रामलाल कोहार, सामीनाथ कोइरी र पृथ्वीराज पाण्डे निर्वाचित हुनु भएको हो ।
यसैगरी सुनवल नगरपालिकाका ३ वटा वडाबाट सदस्यहरुमा क्रमशः हरिलाल गुप्ता, विमल केसी र गोविन्द प्रसाद यादव निर्वाचित हुनु भएको हो । यस्तै महिला जनप्रतिनिधिमा रामग्राम १० बाट चन्द्रधामा रैदास निर्विरोध निर्वाचित हुनु भएको छ भने जनप्रतिनिधि खुला तर्फ रामग्राम १४ का परशुराम यादव र पाल्हीनन्दन गाउँपालिका वडा नं. ६ का कृष्णचन्द्र यादव चयन हुनु भएको निर्वाचन संयोजक रविन्द्रनाथ चौधरीले नेपाली चेलीलाई जानकारी दिनु भयो ।
बुद्धशान्ति साझेदारी वनले जिल्लाको तीन वटा पालिकालाई आफ्नो कार्यक्षेत्र बनाएको छ । सुनवल र रामग्राम नगरपालिका तथा पाल्हीनन्दन गाउँपालिकालाई कार्यक्षेत्र बनाएको छ । जसअन्तर्गत सुनवलका ३ वटा वडा, रामग्रामका ७ वटा वडा र पाल्हीनन्दनका ३ वटा वडाका १ हजार २ सय घरधुरीका झण्डै ७० हजार जनसंख्यामा वन समूहले सेवा प्रदान गर्दै आएको छ ।
रामग्राम नगरपालिका वडा नं. १८ मा मूख्य कार्यालय राखेर संचालन भएको समुहको शनिवार दोश्रो अधिवेशनको प्रतिनिधि सभा सदस्य एवं पूर्व कानून मन्त्री ध्रुववहादुर प्रधानले उद्घाटन गर्नु भएको थियो ।