नवलपरासीको सुस्ता र प्रतापपुर गाउँपालिकाका सयौँ महिलाहरू पटेरको प्रयोग गरी कलात्मक खालका हस्तकलाका सामाग्री बनाएर आम्दानी गर्ने गरेका छन् । स्थानीय स्तरमा उपलब्ध पटेर (एक प्रकारको लामो आकारको झार) को प्रयोग गरी बनाइएका हस्तकलाको सामाग्रीको माग बढ्दै गएपछि अहिले धेरै महिला त्यसतर्फ आकर्षित भएका हुन् ।
सुस्ताकी कल्पिकुमारी चौधरीले पटेरबाट बनाएका हस्तकलाका सामाग्री बिक्री गरेर राम्रो आम्दानी मात्रै गर्नुभएको छैन उद्योग विभागबाट एक लाख राशिको पुरस्कार पनि पाउन सफल हुनुभयो । केही वर्ष अगाडीसम्म घर खर्च धान्न पनि धौ धौ हुँदै आएकोमा चौधरीले अहिले घर खर्च चलाएर श्रीमानलाई पनि पैसा दिने गरेको बताउनु हुन्छ ।
पानी जम्ने दलदलमा सहजै पाईने पटेर, घाँस प्रजातिको वनस्पति हो । पटेरबाट सुकुल, मुडा, पिर्का, टोकरी, किताब र्याकलगायत सजावटका विभिन्न सामाग्री बनाइन्छ । आकर्षक देखिने पटेरका सामाग्रीको माग देशका ठूला सहरबाट बढी आउने गरेको छ । माग धान्न धौ धौ भएपनि घरायसी कामकाजमा अल्झिएका महिलाहरू पनि अहिले पटेरका सामाग्री बनाउन सक्रिय देखिएका छन् ।
स्थानीय स्तरमा सहजै उपलब्ध हुने कच्चा पदार्थबाट समान बनाएर बेच्ने उद्यमीका लागि स्थानीय र प्रदेश सरकारले पनि सहयोग गर्दे आएका छन् ।
प्रदेश सरकारले घरेलु तथा साना उद्योग कार्यालयमार्फत सीपमूलक तालिम प्रदान गरिरहेको उद्योग अधिकृत गंगाधर पाण्डेले बताउनुभयो । अहिले महिला र पुरुष गरी झन्डै दुई सय जनाले पटेरबाट हस्तकलाका सामग्री बनाउँदै आएका छन् । यस्तै उत्पादित वस्तुकाे बजारीकरणका लागि परासीमा काेशेली घरकाे व्यवस्था गरिएकाे अधिकृत पाण्डेले भन्नु भयाे ।
सुस्ता गाउँपालिकाले समेत यसको प्रवद्र्धन गर्ने योजना बनाएको छ । “स्थानीय कच्चा पदार्थबाटै उत्पादन हुने हुँदा यसलाई उद्यमशीलतासँग जोड्ने योजना बनाएका छौँ । यसबाट उत्पादित सामाग्रीले मूलतः महिलाहरूलाई आत्मनिर्भर बनाउन मद्दत पुग्छ”, गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायले भन्नु भयो ।
#सामुदायिक रेडियो परासी