हरेक वर्षजस्तै यसपालि पनि गर्मीसँगै सर्पदंशका घटना बढेका छन् । सर्पले टोकेकामध्ये ४० प्रतिशतको घरमै ज्यान जाने गरेको तथ्याङ्क छ । तथ्याङ्कअनुसार ४० प्रतिशतको अस्पताल जाँदाजाँदै र २० प्रतिशतको अस्पताल पुगेपछि ज्यान जाने गरेको देखिन्छ ।
सर्पदंशका लक्षण
सर्पले टोकेको ठाउँमा घाउ बन्ने, रगत बग्ने, सुन्निने, रातो हुने, दुख्ने, वाकवाकी लाग्ने, चक्कर आउने, कमजोरी महसुस हुने, टोकेको ठाउँ लाटो हुने वा झम्झमाउने जस्ता सामान्य लक्षण देखिन्छन् ।
त्यस्तै, विषालु सर्पले टोकेमा बान्ता हुने, घाँटी अड्याउन नमिल्ने, मुटुको गति बढ्ने, सास फेर्न गाह्रो हुने, हेर्न गाह्रो हुने वा दृष्टि कमजोर हुँदै जाने, जिब्रो बाहिर निकाल्न वा मुख खोल्न गाह्रो हुने, पसिना आउने, मुखमा धेरै र्याल आउने जस्ता समस्या देखिन्छन् ।
के गर्ने ?
सर्पले टोकेको मानिसको शरीरमा भएका औँठी, बेल्ट, घडी, लुगा, गहना भए खोल्ने । सर्पले डसेको ठउँलाई स्थिर राख्ने जस्ले गर्दा शरीरमा विष चाँडै फैलिन पाउँदैन ।
त्यसपछि बिरामीलाई शान्त पार्ने । मान्छे डराएर आत्तियो भने शरीरमा विष छिटो फैलिन सक्छ । आत्तिँदा हृदयघात हुने, छिटो–छिटो सास फेर्ने, हात खुट्टा बाउँडिने वा नचल्ने, बेहोस हुने लगायतका समस्या पनि हुन सक्छ।
कतिपय विषालु र विषनभएका सर्प हेर्दा उस्तै हुन्छन् । सर्पले डसेपछि विषालु हो होइन भनेर साधारण मान्छेले छुट्याउनै सक्दैनन् । त्यसैले सर्पदंशको शंका लागे वा लक्षण देखिनेबित्तिकै नजिकैको सर्पदंश उपचार केन्द्र जानु पर्छ।
के नगर्ने ?
सर्पलाई समात्ने वा मार्ने प्रयास नगर्ने । यसो गर्दा सर्पले फेरि डस्ने जोखिम रहन्छ । सर्पले टोकेको ठाउँमा काट्ने, पोल्ने, चुस्ने वा विष निकाल्ने प्रयास नगर्ने । यसले शरीरमा झन् चाँडै विष फैलिन सक्छ । टोकेको ठाउँ वरपर डोरी वा कपडाले नबाँध्ने । यसले रगतको प्रवाह नहुन सक्छ र पछि बाँधेको अङ्ग नै काट्नु पर्ने अवस्था आउनु सक्छ ।
परम्परागत वा घरेलु उपचारहरू जस्तै सर्पले टोकेको ठाउँमा, गाई गोरुको गोबर, पिसाब, माटो, तताएको घिउ, झारमौरो, सिन्दुर प्रयोग नगर्ने । यसले थप दीर्घकालीन असर गर्न सक्छ ।
सर्पले डसेपछि झारफुक गर्नतिर लाग्नु हुँदैन । सकेसम्म नजिकैको स्वास्थ्य संस्थामा लैजानुपर्छ । सर्पदंशको उपचार हुने ठाउँको जानकारी राख्नु पर्छ ।
कहाँ-कहाँ हुन्छ सर्पदंशको उपचार ?
देशका ३१ वटा जिल्लाका १ सय ३ स्वास्थ्य संस्थामा सर्पदंशको उपचार हुन्छ । उपचार हुने ठाउँहरु यसप्रकार छन् :
झापा
कनकाई सहारा सर्पदंश व्यवस्थापन केन्द्र, कोटिहोम, सुरुङ्गा कनकाई नगरपालिका ४, दमक (रेडक्रस)
नेपाल रेडक्रस उपशाखा सर्पदंश उपचार केन्द्र, दमक–७
चारआली सर्पदंश उपचार केन्द्र, मेचीनगर–१३
सर्पदंश उपचार केन्द्र, दमक
कचन कवल सर्पदंश उपचार केन्द्र, झापा
कनकाई सहारा सर्पदंश व्यवस्थापन केन्द्र, कोटिहोम, कनकाई–४, झापा
सर्पदंश उपचार केन्द्र सञ्चालन र व्यस्थापन समिति (नेपाली सेनाको प्राविधिक सहयोगमा), चाराली, मेचीनगर–१३
सर्पदान उपचार केन्द्र, बनियानी, कचनकवल गाउँपालिका, (६ झापा)
कचनकवल सर्पदंश केन्द्र, कटार क्याम्प, कचनकवल
सर्पदान उपचार केन्द्र, प्राथमिक स्वास्थ्य केन्द्र, बनियानी
मोरङ
जिल्ला अस्पताल, रंगेली
कोशी अञ्चल अस्पताल, विराटनगर
सामुदायिक सर्पदंश उपचार केन्द्र, सिजुवा
कालोपानी सर्पदंश उपचार केन्द्र, केराबारी (सेना)
सुनसरी
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान
जिल्ला अस्पताल, इनरुवा
सामुदायिक सर्पदंश उपचार केन्द्र, इटहरी
उदयपुर
जिल्ला अस्पताल, गाईघाट
आर्मी ब्यारेक, काँडाघारी (सेना)
बेल स्रोट ब्यारेक, उदयपुर (सेना)
बेल स्रोट ब्यारेक, गाईघाट (सेना)
कटारी अस्पताल, कटारी
१८ नम्बर फिया गुल्म, भुल्के, गाईघाट (सेना)
सर्पदंश उपचार केन्द्र, त्रिवेणी ४
सप्तरी
गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल, राजविराज
कञ्चनपुर सर्पदान उपचार केन्द्र, कञ्चनपुर प्राथमिक स्वास्थ्य केन्द्र, कञ्चनपुर
सिरहा
जयकाली सर्पदंश उपचार केन्द्र, बन्दीपुर (सेना)
जयकाली सर्पदंश उपचार केन्द्र, चौहरवा (सेना)
राम कुमार मुरका अस्पताल (जिल्ला अस्पताल), लहान
बारा
जिल्ला अस्पताल, कलैया
प्राथमिक स्वास्थ्य केन्द्र, निजगढ
सर्पदंश व्यावस्थापन केन्द्र, कोलाभी
धनुषा
प्राथमिक स्वास्थ्य केन्द्र, सबाइला
जनकपुर अञ्चल अस्पताल, जनकपुर
महोत्तरी
बर्दिवास अस्पताल, बर्दिवास
जिल्ला अस्पताल, जलेश्वर
प्राथमिक स्वास्थ्य केन्द्र, गौशाला
सामुदायिक सर्पदंश उपचार केन्द्र, गौरीडाँडा
सर्लाही
जिल्ला अस्पताल, मलङ्गवा
नेत्रगञ्ज सर्पदंश उपचार केन्द्र,सर्लाही
प्राथमिक स्वास्थ्य केन्द्र, अचलगढी
प्राथमिक स्वास्थ्य केन्द्र, बरहथवा
प्राथमिक स्वास्थ्य केन्द्र, नवलपुर
सर्पदंश उपचार केन्द्र, नेत्रगञ्ज (सेना)
नवलपुर सर्पदंश उपचार केन्द्र, लालबन्दी (सेना)
रौतहट
चन्द्रनिगाहपुर अस्पताल, चन्द्रनगर
जिल्ला अस्पताल, गौर
पर्सा
नारायणी उपक्षेत्रीय अस्पताल, वीरगञ्ज
पोखरिया अस्पताल, पोखरिया
सिन्धुली
जिल्ला अस्पताल, सिन्धुलीमाडी
प्राथमिक स्वास्थ्य सेवा, दुधौली नगरपालिका
स्वाब सखा ९,दुधौली नगरपालिका
नेपाल प्रहरी तालिम केन्द्र, दुधौली
प्राथमिक स्वास्थ्य केन्द्र, सिथौली
हेल्थ पोस्ट, दुधौली
हेल्थ पोस्ट, हर्षाही
ललितपुर
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, लगनखेल
काठमाण्डौ
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, टेकु
वीरअस्पताल, सुनधारा
कान्ति बाल अस्पताल, महाराजगञ्ज
शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, टेकु
त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जज
चितवन
भरतपुर अस्पताल, भरतपुर
कास्की
गण्डकी अस्पताल –पश्चिमाञ्चल क्षेत्रीय अस्पताल
बर्दिया
जिल्ला अस्पताल, गुलरिया
बाँके
भेरी अञ्चल अस्पताल, नेपालगञ्ज
सर्पदंश उपचार केन्द्र, सेनाबर
दाङ देउखुरी
प्राथमिक स्वास्थ्य केन्द्र, लमही
लमही अस्पताल, लमही
देउखुरी सर्पदंश उपचार केन्द्र, गढुवा
राप्ती प्रादेशिक अस्पताल, तुलसीपुर
राप्ती उपक्षेत्रीय अस्पताल, घोराही
कपिलवस्तु
बहादुरगञ्ज अस्पताल, बहादुरगञ्ज
सर्पदंश उपचार केन्द्र, गोरुसिंगे, सेना
तौलिहवा अस्पताल, तौलिहवा
रुपन्देही
भीम अस्पताल, भैरहवा
लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल
नवलपरासी (नवलपुर र परासी)
चिसापानी अस्पताल, बर्दघाट
जिल्ला अस्पताल, परासी
कालीगण्डकी अस्पताल, कावासोती
नेपाल मध्यबिन्दु सामुदायिक स्मृति अस्पताल विकास केन्द्र, कावासोती डाँडा
प्राथमिक स्वास्थ्य केन्द्र, दुम्कौली
प्राथमिक स्वास्थ्य केन्द्र, त्रिवेणी
शहीद मेमोरियल सामुदायिक अस्पताल,चौपट्टा
पाल्पा
रामपुर अस्पतार, रामपुर
सुर्खेत
मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल, मेहल कुन अस्पताल, सुर्खेत
कञ्चनपुर
महाकाली प्रादेशिक अस्पताल, महेन्द्रनगर
२५ नम्बर फिया गुल्म, अर्जुनी सेना
प्राथमिक स्वास्थ्य केन्द्र, बेलडाँडी
प्राथमिक स्वास्थ्य केन्द्र, दोधारा
प्राथमिक स्वास्थ्य केन्द्र, श्रीपुर
सर्पदंश उपचार केन्द्र, भगतपुर
श्री २ नं. गण महेन्द्रनगर, महेन्द्रनगर सेना
श्री भवानी बक्सा गण मझगौ ब्यारेक, मझगौ ब्यारेक सेना
कैलाली
सर्पदंश उपचार केन्द्र, बडेपुर मसुरिया
सर्पदंश उपचार केन्द्र, तेघारी
सेती प्रादेशिक अस्पताल, धनगढी
टीकापुर अस्पताल, टीकापुर
बाजुरा
जिल्ला अस्पताल, मार्तडी
अछाम
जिल्ला अस्पताल,मङ्गलसेन
डडेलधुरा
जोगबुढा अस्पताल जोग बुद्ध अस्पताल, जोगबुढा
डोटी
जिल्ला अस्पताल, दिपायल
सामुदायिक प्रहारी सर्पदंश उपचार केन्द्र, दिपायल
सर्पको टोकाइबाट कसरी बच्ने ?
वन, जङ्गल, घाँसे मैदान र ढुङ्गा भएको ठाउँमा जाँदा लठ्ठीले हिर्काउँदै हिँड्ने । जसले गर्दा सर्प भाग्न सक्छ ।
सर्पहरू हुन सक्ने ठाउँहरूमा हिँड्दा, खेतबारीमा काम गर्दा, घाँस काट्दा जुत्ता, गमबुट, पञ्जा, हात खुट्टा ढाक्ने गरी पूरा लुगा लगाउनुपर्छ ।
रातमा हिँड्दा टर्चलाइटको प्रयोग गर्नुपर्छ ।
सर्पलाई जिस्काउने काम गर्नु हुँदैन ।
घर वरपरका प्वालहरु टाल्नुपर्छ ।
झुलभित्र मात्रै सुत्नुपर्छ ।
आफू बस्ने ठाउँहरू सफा राख्नुपर्छ ।
खोला, ताल वा पोखरीमा पौडी खेल्दा, माछा मार्दा वा किनारमा हिँड्दा सतर्क रहनुपर्छ ।
सर्पको बारेमा केटाकेटी, जेष्ठ नागरिक, छरछिमेक, टोल समुदायमा शिक्षा र चेतना फैलाउनुपर्छ ।
(डा. हेमन्तचन्द्र ओझासँगको कुराकानीमा आधारित)