रामग्राम नगरपालिकाले आ.ब. २०८०।०८१ कालागि कुल १ अर्व १७ करोड १८ लाख ८८ हजारको बजेट सार्वजनिक गरेको छ । शुक्रवार १२ औं नगर सभामासम्पन्न पश्चात गरिएको पत्रकार सम्मेलनमा नगरप्रमुख धनपत यादवले नयाँ बजेट बारे जानकारी दिनु भएको हो ।
आगामी आ.ब. २०८०।०८१ कालागि संघीय सरकार तर्फबाट सबै प्रकारको अनुदान ६७ करोड ५९ लाख, प्रदेश सरकारबाट सबै प्रकारका अनुदान बापत ३ करोड ६२ लाख ७७ हजार र नगरपालिकाको आन्तरिक राजश्व र चालुबाट ४५ करोड १७ लाख ११ हजार गरी कुल १ अर्व १७ करोड १८ लाख ८८ हजारको आम्दानी हुने अनुमान गरिएको छ ।
यस्तै नगरपालिकाले आगामी आ.ब. २०८०।०८१ कालागि चालु खर्च तर्फ ४३ करोड ३५ लाख ६२ हजार अर्थात ३६ प्रतिशत खर्चको अनुमान गरेको छ । जसमा संघीय सरकारको चालु खर्च तर्फ २६ करोड ६१ लाख, लुम्बिनी प्रदेश सरकारको चालु खर्च तर्पm ११ लाख १५ हजार र नगरपालिकाको चालु खर्च तर्फ १६ करोड ६३ लाख १२ हजार खर्च गर्ने लक्ष्य लिएको छ ।
यस्तै रामग्राम नगरपालिकाले आगामी आर्थिक बर्ष २०८०।०८१ मा पूँजिगत खर्च तर्फ ७३ करोड ८३ लाख २६ हजार अर्थात ६४ प्रतिशत खर्चको अनुमान गरेको छ । जसमा संघीय सरकार तर्फको पूँजीगत खर्च २४ करोड २८ लाख, लुम्बिनी प्रदेश सरकार तर्फको पूँजीगत खर्च ८० लाख र नगरपालिको आन्तरिक पूँजीगत खर्च ४८ करोड ७५ लाख २६ हजार खर्च गर्ने लक्ष्य रहेको बताइएको छ ।
यसैबीच पत्रकार सम्मेलनमा नगरप्रमुख धनपत यादवले नगरवासीलाई सुरक्षित गर्न झरहीखोला लगायत नदी तटवन्ध निर्माण गर्दै नदीकरोडोरमा ग्रीनबेल्ट विकास गर्ने कामलाई निरन्तरता दिइएको जानकारी दिनु भयो । वहाँले विश्व वैंकको प्राविधिक सहयोगमा ६१ करोड वरावरको पोखरापाली औद्योगिक क्षेत्र हुदै पन्डितपूर घिनाहा जोड्ने राष्ट्रिय मापदण्डको सडक निर्माण थालनी गरिएको वताउनु भयो । यस्तै आ.ब.२०८९।०८० मा वडा नं १, २ र ६ वडाकार्यालयहरु आफ्नै भवनमा सारिएको र वडा नं. ९ को कार्यालय भवन पूर्वाधार निर्माण भई प्रशासनिक कामहरु सम्पन्न भएको जानकारी दिनु भयो ।
नगरपालिकाले सामाजिक सुरक्षा भत्ता वितरणलाई वडा स्तरमै पुर्याएर निकै महत्वपूर्ण काम गरेको छ । नगरपालिकाले संचालन गरेका गतिविधि नगरवासीलाई सुसूचित गराउन रामग्राम बुलेटिन त्रैमासिक प्रकाशन गरी सोको आधारमा चौमासिक सार्वजनिक सुनुवाई गरिएको नगरप्रमुख यादवले वताउनु भयो ।