२४ औं राष्ट्रिय सरसफाई सप्ताहको अवसरमा बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानी र सरसफाई विषयक नगरस्तरिय अन्तरक्रिया कार्यक्रम आइतबार सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष दिपक लम्सालको अध्यक्षता तथा वर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यमा अन्तरक्रिया कार्यक्रम गरिएको हो । सो अवसरमा नगरप्रमुख श्रेष्ठले खानेपानीको क्षेत्रमा देखिने गरी बजेट विनियोजन गरिएको भन्दै आवश्यक सामाग्रीको इस्टीमेट सहित सम्पर्कमा खानेपानी संस्थाका संचालकहरुलाई आग्रह गर्नुभएको छ । नगरप्रमुख श्रेष्ठले नगर भित्रका अति विपन्न वर्गका नागरिकहरुलाई नगरपालिकाले पानी खुवाउने प्रतिबद्धता समेत व्यक्त भयो ।
कार्यक्रममा बर्दघाट नगरपालिकाका निवर्तमान नगरप्रमुख धिरज शर्माले खानेपानी संस्थाहरुमा उपभोक्ताहरुले ५ प्रतिशत श्रमदान गर्नुपर्ने व्यवस्था व्यवहारिक नभएको र यसलाई हटाउनु पर्नेमा जोड दिनु भयो । उहाँले विगतका नेतृत्वले गरेका राम्रा कामको बर्तमान नेतृत्वले अपनत्व लिएर काम गर्न नसकेको बताउनुभयो । उहाँले खानेपानी सरसफाईको क्षेत्रमा तिनै तहका सरकार बीच सहसम्बन्ध स्थापित गरेर काम गर्नुपर्नेमा उहाँको जोड दिनु भएको थियो ।
बर्दघाट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले नगरपालिकाले सरसफाईको क्षेत्रमा अभियानको रुपमा कार्यक्रम अगाडि बढाएको बताउदै आगामी आर्थिक वर्षलाई सरसफाई वर्षको रुपमा मनाउने जानकारी दिनुभयो ।
खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष थानप्रसाद गैरेले खानेपानीको क्षेत्रमा महासंघले लुम्बिनी प्रदेश सरकार तथा विभिन्न निकायहरुमा पहल गरिरहेको बताउनु भयो । गैरेले स्थानिय सरकारले खानेपानी र सरसफाईको क्षेत्रलाई प्राथमिकतामा राख्न नसकेको बताउनु भयो ।
कार्यक्रममा उद्योग वाणिज्य संघ बर्दघाटका अध्यक्ष लेखनाथ न्यौपानेले खानेपानीका सबै संस्था एकैठाँउबाट चल्ने गरी केन्द्रिकृत गर्नुपर्ने बताउनुभयो । ईन्जिनियर जगन्नाथ गहतराजले खानेपानी डिभिजन कार्यालयको सम्पर्क कार्यालय परासीमा पुनः ल्याउन पहल गर्नुपर्ने कुरामा जोड दिनु भयो।
यसैगरी जहदा मनरी खानेपानी संस्थाका अध्यक्ष निमानन्द न्यौपानेले गरिव विपन्न वर्गको बस्ती भएको क्षेत्रमा हारगुहार गर्दा समेत कहि कतैबाट पानी विस्तारको लागि सहयोग नपाएको गुनासो गर्नुभयो । यस्तै कर्मया लगुनाहा खानेपानी संस्थाका अध्यक्ष गोपीकृष्ण न्यौपानेले नगरका ग्रामिण भेगमा खानेपानी वितरणको अवस्था राम्रो नभएको बताउनुभयो । गत वर्षको माघबाट कर्मया लगुनाहा खानेपानी संस्थाले पानी वितरण सुरु गरेपनि हालसम्म जम्मा १ सय ४० परिवारमा मात्र पानी वितरण गर्न सकिएको बताउनुभयो ।
यस्तै भानुनगर खानेपानी संस्थाका अध्यक्ष झमन बहादुर आलेले भुमिगत पानी निकाल्न सफल भएपनि अत्याधिक आईरनका कारण वितरण गर्न नसकिएको बताउदै ट्रिटमेन्ट प्लान्टको आवश्यकता औल्याउनु भयो । यस्तै दाउन्ने देवि खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष ईन्द्र बहादुर जिसिले खानेपानी डिभिजन कार्यालयबाट सहयोग नपाएको गुनासो गर्नुभयो ।
बर्दघाट बजार विकास समितिका अध्यक्ष ताराप्रसाद गौतमले सरसफाईको क्षेत्रमा नगरमा गर्नुपर्ने धेरै काम बाँकि रहेको बताउदै नगरले सरसफाईको बजेट कहाँ खर्च गर्यो भन्नेनै थाहा नभएको बताउनुभयो । यस्तै वर्दघाट प्रेस क्लवका अध्यक्ष कुस्माखर ढकालले नगरभित्रका खानेपानी तथा सरसफाईको अवस्था र सुधारकालागि गर्नु पर्ने पहलका विषयमा बोल्नु भएका थियो ।
कार्यक्रमको सहजिकरण सामुदायिक रेडियो परासी ९०.२ मेगाहर्जका स्टेशन म्यानेजर विकास अधिकारीले गर्नु भएको थियो भने वर्दघाटमा रहेको सामुदायिक रेडियो दाउन्ने, दौतरी एफ एम र वर्दघाट प्रेस क्लको सहकार्य रहेको वर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका व्यवस्थापक विष्णु प्रसाद भुषालले जानकारी दिनु भयो ।
सरसफाई सप्ताह २०८० को अवसरमा गत जेठ २२ गतेदेखि विभिन्न कार्यक्रम गरेर आइतबार एक कार्यक्रमका बचि सप्ताह व्यापी कार्यक्रम सञ्चालन गरेको थियो ।