गर्भपतन भनेको के हो ?
- गर्भमा रहेको भु्रर्ण वा बच्चा विभिन्न कारणले गर्दा गर्भाशयबाट बाहिर निस्कनुलाई नै गर्भपतन भनिन्छ ।
- विश्व स्वास्थ्य संगठनले (WHO) दिएको परिभाषा अनुसार “महिनावारी रोकिएको पहिलो दिनदेखि गर्भरहेकाे २२ हप्ता भित्र गर्भ खेर गएमा वा तुहिएमा गर्भपतन भएको मानिन्छ ।
- नेपालमा विभिन्न भागमा गर्भपतनलाई गर्भपात हुनु, गर्भ तुहिनु, अधिग्रो जानु, अधकल्चो जानु आदि शब्द प्रयोग गरिन्छ ।
गर्भपतनका किसिम वा प्रकारः–
१. प्राकृतिक गर्भपतन
गर्भवती महिलालाई स्वास्थ्य सम्बन्धी कुनै समस्या वा रोग भएमा अथवा भु्रणमा कुनै किसिमको खराबी भएर गर्भखेर जानुलाई प्राकृतिक गर्भपतन भनिन्छ । कुल गर्भवती महिलामध्ये करिब १५ प्रतिशत महिलाको गर्भ आफै खेर जाने गरेको पाइएको छ ।
प्राकृतिक गर्भपतनका कारणहरुः
- गर्भमा नै रोगले भ्रुण या बच्चा बिग्रनु वा मर्नु ।
- प्रजनन मार्गमा संक्रमण तथा यौन रोग लाग्नु ।
- दुर्घटनामा परी पाठेघरमा चोचपटक लाग्नु ।
- मानसिक तनाव वा चिन्ता हुनु ।
- लामो समयको यात्रा गर्नु ।
- दम्पतीबीच रक्त समुह नमिल्नु ।
- कुनै रोग उपचारको लागि औषधी सेवन गर्नु ।
२. कृत्रिम गर्भपतन
गर्भवती महिलाको आफ्नो इच्छा वा कसैको दवाबबाट अन्य औषधी वा औजार प्रयोग गरेर गरिने गर्भपतनलाई कृतिम गर्भपतन भनिन्छ । अथवा अनिच्छित गर्भ रहन गएमा जानाजानी गर्भ तुहाउनेलाई पनि कृत्रिम गर्भपतन भनिन्छ ।
कृत्रिम गर्भपतनका कारणहरु
- अनिच्छित गर्भ भएमा ।
- परिवार नियोजन साधनको अनियमित प्रयोग र साधन असफल भएमा ।
- अविवाहित युवतीहरुमा साधनको बारेमा राम्ररी थाहा नभएर गर्भ रहेमा ।
- असामान्य अवस्थाको गर्भ रहेमा ।
- गर्भ रहेको कारणले आमाको स्वास्थ्यमा जोखिम अवस्था आएमा ।
कृत्रिम गर्भपतनका प्रकारहरु
१. असुरक्षित गर्भपतन
तालिम नलिएका र मान्यता प्राप्त नगरेका स्वास्थ्य केन्द्रबाट अदक्ष स्वास्थ्यकर्मी वा अन्य व्यक्तिबाट गर्भपतन गराइन्छ भने त्यसलाई असुरक्षित गर्भपतन भनिन्छ । जुन गर्भपतनले महिलाको स्वास्थ्यमा हानी पु¥याउने हुने हुन्छ । कुल मातृमृत्युको १३% महिला असुरक्षित गर्भपतनको कारणले मर्ने गर्दछन् ।
असुरक्षित गर्भपतनबाट देखिन सक्ने असरहरु
तत्कालिन असरहरु
- पूर्ण रुपमा गर्भपतन नहुनु ।
- अत्यधिक रक्त श्राव
- पाठेघरमा प्वाल पर्ने र सक्रमण
- बेहोस हुने, मानसिक तनाव बढ्ने ।
- उपचारमा बढी खर्च हुने ।
- मृत्यु हुने ।
दीर्घकालीन असरहरु
- जीवनभर तल्लो पेट दुखि रहने ।
- बाँझोपन आउने ।
- गर्भ तुहि रहने ।
- डिम्बबाहीनी नलीमा गर्भ रहने ।
- उपचारमा बढी खर्च हुने ।
- महिलाको ज्यान जाने ।
- असुरक्षित गर्भपतनले मातृमृत्यु दर बढाउने ।
२. सुरक्षित गर्भपतन
सुचिकृत स्वास्थ्य संस्थामा सुचिकृत वा तालिम प्राप्त स्वास्थ्यकर्मीद्वारा गरिने गर्भपतनलाई सुरक्षित गर्भपतन भनिन्छ ।
सुरक्षित गर्भपतन २ तरीकाबाट गर्न सकिन्छ ।
१. औषधिबाट १० हप्तासम्म
२. औजारबाट १२ हप्तासम्म
सुरक्षित गर्भपतन सम्बन्धित विधमान कानुनी व्यवस्था ।
मुलुकी ऐन ज्यान सम्बन्धी महलको २८ ख अनुसार देहायको अवस्थामा नेपाल सरकारले तोके बमोजिमको प्रक्रिया अपनाई निर्धारित योग्यता पूरा गरेका सूचिकृत स्वास्थ्य संस्थाबाट सूचीकृत स्वास्थ्यकर्मीले मात्र सुरक्षित गर्भपतन गराउन पाइने व्यवस्था गरेको छ ।
गर्भपतन गर्न पाइने कानुनी व्यवस्था
- महिलाको मञ्जुरीमा १२ हप्तासम्मको गर्भपतन गर्न मिल्ने ।
- जबरजस्ती करणी वा हाडनाता करणीबाट रहन गएको १८ हप्ता सम्मको गर्भपतन गर्न मिल्ने ।
- गर्भको कारणले महिलाको ज्यान जोखिममा पर्ने अवस्था भएमा वा गर्भमा रहेको भ्रुण कलाङ्ग (असामान्य) भएमा जुनसुकै समयमा मान्यता प्राप्त डाक्टरको राय अनुसार गर्भपतन गर्न पाइने ।
गर्भपतन गर्न नपाइने अवस्थाहरु
- गर्भवती महिलाको मञ्जुरी बिना गर्भपतन गर्न नपाईने ।
- भ्रुणको लिङ्ग पहिचान गरी गर्भपतन गराउन नपाईने । त्यसकारण सूचिकृत नभएका स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाबाट दिएको गर्भपतन सेवा गैरकानुनी हुने हुँदा सेवा प्रदायक नै संजायको भागिदार बन्न सक्छन् ।
गर्भपतनको वर्तमान अवस्थाः–
- नेपाल सरकारले मान्यता प्राप्त सूचिकृत स्वास्थ्य संस्थामा १२ हप्ता भित्रको गर्भपतन गर्न हाल हेल्थपोष्ट, सरकारी अस्पताल, नेपाल परिवार नियोजन संघ र मेरी स्टोप्स सेन्टरबाट सुरक्षित गर्भपतन सेवा उपलब्ध रहेको छ ।
- नेपाल परिवार नियोजन संघ पश्चिम नवलपरासीबाट चालु आर्थिक बर्ष २०७९।२०८० को बैशाख मसान्तसम्म सुरक्षित गर्भपतन सेवा लिनेको संख्या ५८० जना रहेको छ । जस मध्ये ५०२ जनाले औषधीबाट गर्भपतन र ७८ जनाले औजारबाट सुरक्षित गर्भपतन सेवा लिएको तथ्याङ्ग रहेको छ भने पूर्ण गोपनियता व्यवस्था गरिएको छ ।
- अहिले औषधीबाट पनि गर्भपतनको सुविधा लिन सकिन्छ तर दर्ता नभएका औषधी पसलबाट औषधी किनेर खाँदा जटिलता देखिएको छ तसर्थ सुचिकृत नभएका पसलबाट औषधी लिनु हुदैन । साथै औषधीबाट गरिने गर्भपतनको समय १० हप्ताभित्रसम्म दिन सकिने व्यवस्था रहेको छ ।
- उमेरको हदबन्दीमा १८ वर्ष भन्दा कम उमेरको महिला वा केटीहरुमा गर्भपतनकोलागि १ जना साक्षी अनिवार्य गरिएको छ । नेपाल परिवार नियोजन संघमा पहिलाको तुलनामा गर्भपतन गराउने महिलाको संख्या घटेको छ र औषधिबाटे गर्भपतन रोज्नेको संख्या भने बढेको छ ।
— अन्जनी श्रेष्ठ, कार्यरत नेपाल परिवार नियाेजन सघ परासी