वर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले विश्व वातावरण दिवसको अवसरमा सोमबार बृक्षारोपण कार्यक्रम गरेको छ । संस्थाले नवनिर्मित भवन परिसरमा बृक्षारोपण गरेर दिवस मनाएको हो ।
“खानेपानी र सरसफाई सबैका लागि सधैकालागि” भन्ने मूल नाराका साथ सोमबारदेखि नै शुरु भएको २४ औं राष्ट्रिय सरसफाई सप्ताह २०८० को अवसरमा संस्थाले बृक्षारोपण गरेको जनाएको छ । सो अवसरमा संस्थाले सोमबार २२ गतेदेखि २८ गतेसम्म संचालन हुने सरसफाई सप्ताह २०८० को साप्ताहिक कार्यक्रम पनि सार्वजनिक गरेको छ ।
वर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष दिपक लम्सालको अध्यक्षता र वर्दघाट नगरपालिकाका नगरउपप्रमुख रुद्रप्रकाश उपाध्यक्षको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको हो ।
कार्यक्रममा वर्दघाट नगरपालिकाका पूर्व नगर प्रमुख धिरज शर्मा वस्याल, संस्थाका निवर्तमान अध्यक्ष धातानन्द वस्याल लगायतले सरसफाई सप्ताहको महत्वका विषयमा चर्चा गर्नु भएको संस्था व्यवस्थापक विष्णु कुमार भुषालले जानकारी दिनु भयो ।
संस्थाले २३ गते मंगलबार स्थानीय आमा समुह र युवा क्लवबीच खानेपानी, सरसफाई र वातावरणीय सरसफाई विषयक अन्तरक्रिया कार्यक्रम, २४ गते बुधबार २२ वटै टोल विकास संस्थासँग अन्तरक्रिया गर्ने कार्यक्रम तय गरेको छ । यस्तै जेष्ठ २६ गते खानेपानीको मूल सरसफाई तथा अवलोकन गर्ने, जेष्ठ २७ गते नगरभित्र बृहत सरसफाई कार्यक्रम संचालन गर्ने कार्यक्रम तय भएको संस्थाले जनाएको छ ।
यसैगरी सरसफाई सप्ताहको सातौं दिन अर्थात जेष्ठ २८ गते वर्दघाट नगरभित्रका खानेपानी उपभोक्ता संस्थाहरुका पदाधिकारीसँग नगरस्तरीय अन्तरक्रिया कार्यक्रम गर्ने कार्यक्रम तय भएको वर्दघाट खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष दिपक लम्सालले जानकारी दिनु भयो ।