रामग्राम नगरपालिकाका प्रत्येक वडामा मेलमिलाप केन्द्र व्यवस्थापनकालागि संयोजकहरु छनौट गर्नेकामले तिब्रता पाएको छ । यसैक्रममा सोमबार (आज) रामग्राम नगरपालिकाको वडा नं. ३ मा एक भेला गरी मेलमिलापकर्ता संयोजक छनौट गर्ने कार्य सकिएको छ ।
रामग्राम नगरपालिका वडा नं. ३ का सनाउल्लाह अन्सारीलाई वडा नं. १, २, ३, ५ र ६ को संयोजक तोकिएको छ ।
रामग्राम नगरपालिका वडा नं. ३ का अध्यक्ष उज्जवल न्यौपानेको अध्यक्षता र नगरउपप्रमुख एवं न्यायिक समिति संयोजक संझना चौधरीको प्रमुख आतिथ्यमा मेलमिलापकर्ता भेला सम्पन्न भएको छ । सो कार्यक्रममा उपप्रमुख चौधरीले वडा वडामा मेलमिलाप केन्द्र गठन हुँदा वडाको समस्या वडाबाटै समाधान गर्न सकिने बताउनु भयो ।
सो कार्यक्रममा वडा नं. १ का वडा अध्यक्ष रुद्र प्रकाश उपाध्याय, वडा नं. ३ की वडा सदस्य एवं कार्यपालिका सदस्य नानूकुमारी खड्का, कार्यपालिका सदस्य अमृत जि.सी, वडा नं. २ का वडा सदस्य विजय गुप्ता, वडा नं. ६ का वडा सदस्य सूर्यप्रकाश केवट एवं न्यायिक समितिका सचिवालयका सहयोगी रामजी साहानी लगायतले मेलमिलाप केन्द्र व्यवस्थापनका विषयमा चर्चा गर्नु भएको न्यायिक समिति सदस्य अवधराज यादवले जानकारी दिनु भयो ।
रामग्राम नगरपालिकामा सूचिकृत मेलमिलापकर्ताको संख्या ७४ जना रहेको छ । सूचिकृत मेलमिलापकर्ताहरुले प्रत्येक वडामा हुने विवादहरुको समाधान गर्ने कार्य गरिरहेका छन् । चालु आ.ब २०७९।०८० को बैशाख मसान्तसम्म कुल ४० वटा विवाद दर्ता भएकोमा ३२ वटा विवादहरु समाधान भएका छन् भने वाँकी ८ वटा समाधानको प्रकृयामा रहेको न्यायिक समिति सदस्य यादवले बताउनु भयो ।
न्यायिक समितिमा लेनदेन, महिला हिंसा, झैझगडा, अंशवण्डा लगायतका विवादहरु आउने गरेकाछन् ।