नेपाल पत्रकार महासंघ, पश्चिम नवलपरासीले शनिवार बर्दघाटमा महासंघमा आवद्ध सदस्यहरुको शुद्धिकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम महासंघ नवलपरासीका अध्यक्ष हरि शर्माको अध्यक्षता र नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिव एवं सदस्य शुद्धिकरण अभियान २०८० का केन्द्रीय संयोजक रोशन पुरीको प्रमुख आतिथ्यता गरिएको थियो । संयोजक पुरीले सदस्य शुद्धिकरण कुनै आग्रह वा पूर्वाग्रही भएर नभई बिशुद्ध पत्रकारीतामा संलग्नहरुको छाता संगठन बनाउ अभियान संचालन गरिएको बताउनु भयो । उहाँले सदस्य शुद्धिकरणको अभियानको अगुवाई पश्चिम नवलपरासी शाखाले गरेकोमा खुसी व्यक्त गर्नु भयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका सचिव बिक्रम खड्का, प्रेस युनियन नवलपरासीका अध्यक्ष उमेश वि.क, प्रेस चौतारी नवलपरासीका जिल्ला अध्यक्ष मेघराज गौतम, प्रेस सेन्टरका केन्द्रीय सचिव नारायण भण्डारी, क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष रवि पाण्डे, प्रेस सेन्टरका अध्यक्ष चिरण न्यौपाने, नेपाल पत्रकार महासंघका पूर्व सभापति कुलप्रसाद शर्मा, केशव पराजुली, सचिव राजकुमार रेश्मी लगायतले सदस्य शुद्धिकरणका विषयमा चर्चा गर्नु भएको थियो ।
सो कार्यक्रममा सदस्यता त्यागको स्वघोषणा गर्ने सदस्यहरुलाई सम्मान गरिएको थियो । महासंघका पूर्व सभापति कुलप्रसाद शर्मा, सदस्य उमानाथ पोख्रेल, सदस्य रेशम शर्मा र ताराचन्द्र बर्मा लगायतलाई दोसल्ला र सम्मान पत्रका साथ सम्मान गरिएको हो । महासंघका कुल ८६ जना सदस्यमध्ये १७ जनाले सदस्यता त्यागको स्वघोषणा गरेको शुद्धिकरण अभियानका जिल्ला संयोजक केशव पराजुलीले जानकारी दिनु भयो ।
अन्तरक्रिया कार्यक्रममा पत्रकारहरुले सदस्य शुद्धिकरण अभियानका केन्द्रीय संयोजक पुरीसँग प्रश्नोत्तर गरेका थिए । सो क्रममा पत्रकार मुक्ति तिवारी, पत्रकार प्रमोद अर्याल, पत्रकार बृजराज कुसहवा, पत्रकार गणेश पाण्डे लगायतले जिज्ञासा राख्नु भएको महासंघका सचिव राजकुमार रेश्मीले नेपाली चेलीलाई जानकारी दिनु भयो ।