बुद्धको जन्मस्थल लुम्बिनीको पर्यटन प्रवर्द्धनका लागि ‘बुद्धिस्ट इन्टरनेशनल ट्राभल मार्ट’ हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल पर्यटन बोर्डको सहयोग तथा नेपाल एसाेसिएशन अफ टुर एन्ड ट्राभल एजेन्ट (नाट्टा)को आयोजनामा पर्सि बिहीवारदेखि शनिवारसम्म ट्राभल मार्ट हुन लागेको हो ।
‘एक्सप्लोर द बुद्ध ल्यान्ड’ भन्ने नाराका साथ हुन लागेको ट्राभल मार्टका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिवको अध्यक्षतामा समिति गठन भएको छ ।
मार्टमा नेपालका पर्यटनसँग सम्बन्धित संस्थाका प्रतिनिधि, व्यवसायीका साथै भारत, चीन, भुटान, श्रीलङ्का, थाइल्यान्ड, म्यानमार, कोरियालगायतका देशका भिक्षु, टुर अपरेटर, बुद्धिस्ट एसाेसिएशनका प्रतिनिधि, नेसनल टुरिजम काउन्सिलका प्रतिनिधिलगायतको सहभागिता रहने नाट्टाका अध्यक्ष रमेश थापाले जानकारी दिनुभयो ।
लुम्बिनीको होटल पवन प्यालेसमा हुने मार्टमा नेपाल र लुम्बिनी क्षेत्रको पर्यटन प्रवर्द्धन र सम्भावनाबारे प्रस्तुतीकरणका साथै ‘वि टु वि’ बैठक हुने अध्यक्ष थापाले बताउनुभयो । मार्टमा देश र विदेशका दुई सयभन्दा धेरै प्रतिनिधिको सहभागिता रहनेछ । मार्टका लागि एक करोड ६० लाख रुपैयाँको हाराहारीमा खर्च हुने अनुमान रहेको आयोजकले जनाएको छ ।