प्रतापपुरमा पहिलो पटक पालिका स्तरीय लघु, घरेलु तथा साना उद्योगीहरुको भेला सोमबार गोपिगञ्जमा सम्पन्न भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ, नवलपरासीका अध्यक्ष मेघराज गौतमको अध्यक्षता र प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेश यादवको प्रमुख आतिथ्यमा भेला सम्पन्न भएको हो । कार्यक्रममा अध्यक्ष यादवले “उद्योगको उत्पादन लागत कम गर्न सकेमात्र उद्योग निरन्तर संचालन हुने बताउनु भयो । उहाँले उद्योगको क्षेत्रमा लगानी गर्ने वातावरण तयार गर्न र उत्पादनका लागि आवश्यक श्रोत र पूँजीको व्यवस्था गर्न आफूले पहल गर्ने बताउनु भयो ।”
प्रतापपुर गाउँपालिकामा विभिन्न उद्यम गरी जिविकोपार्जन गरेका लघु, घरेलु तथा साना उद्यमीहरुलाई संगठीत गरी महासंघको पालिका स्तरीय समिति निर्माण गर्न भेला गरिएको बताइएको छ । गाउँपालिकाका करिव ८० जना उद्यमीहरुको उपस्थितिमा कार्यक्रम गरिएको हो ।
कार्यक्रममा प्रतापपुर गाउँपालिका वडा नं. १ का अध्यक्ष महेन्द्र चौधरी, घरेलु तथा साना उद्योग कार्यालयका उद्योग अधिकृत गंगाधर पाण्डे, केरा उत्पादक संघका अध्यक्ष लख्खुप्रसाद यादव, जिल्ला मत्स्य उत्पादक संघका अध्यक्ष नाथुराम क्षेत्री, घरेलु महासंघ नवलपरासीका सदस्य देवेन्द्र चौधरी, घरेलु महासंघ रामग्राम नगर समितिका अध्यक्ष मुक्तिप्रसाद पौडेल लगायतले उद्यमीका समस्या र समाधानका विषयमा चर्चा गर्नु भएको थियो ।
यसैवीच प्रतापपुर गाउँपालिकाको सम्पन्न उद्यमी भेलाले भवानीशंकर यादवको अध्यक्षतामा महासंघको ११ सदस्यीय गाउँपालिका समिति सर्वसम्मत चयन गरेको छ । जसको बरिष्ठ उपाध्यक्षमा केशव राजभर, उपाध्यक्षमा राजेन्द्रकुमार राजभर, महासचिवमा दुर्गेश गुप्ता, कोषाध्यक्षमा सुनिताकुमारी कोइरी, र सदस्यहरुमा गायत्री अग्रहरी, सुदर्शन कोइरी, राजुप्रसाद साहानी सर्वसम्मत चयन हुनु भएको छ ।
यस्तै सम्पन्न भेलाले सावित्री चौधरीको अध्यक्षतामा ७ सदस्यीय घरेलु महासंघको महिला उद्यमी समिति सर्वसम्मत चयन गरेको छ । जसको वरिष्ठ उपाध्यक्षमा मुनाकुमारी चौधरी, उपाध्यक्षमा प्रियंका कुशहवा, कोषाध्यक्षमा पुजा चौधरी, सदस्यहरुमा रुक्मीणी चौधरी र सुनिता चौधरी चयन हुनु भएको छ ।