केही यस्तो आवाज सुनिन्छ, जुन वास्तवमा कसैले बोलेकै हुँदैन । केही यस्तो देखिन्छ, जुन वास्तवमा हुँदै हुँदैन । केही यस्तो महसुस गरिन्छ, जुन वास्तवमा भइरहेकै हुँदैन । यी भ्रम हुन् । तर व्यक्तिमा हुने यी भ्रम सामान्य मानिंदैन । यो एक गम्भीर प्रकृतिको मानसिक समस्या हो । यसलाई चिकित्सकीय भाषामा सिजोफ्रेनिया भनिन्छ
मानसिक रोग भन्नासाथ डिप्रेसन, एन्जाइटीको मात्र चर्चा हुन्छ । तर धेरैलाई भित्रभित्रै तर्सारहेको सिजोफ्रेनियाबारे सामान्य जानकारी पनि हुँदैन । यो समस्याको लक्षण, असर, जटिलताबारे बुझ्नैपर्छ ।
के हो सिजोफ्रेनिया ?
यो गम्भीर प्रकारको मानसिक रोग हो । मस्तिष्कमा केही रासायनिक सन्तुलनहरू छन् । कतिपय अवस्थामा दिमागमा हुने डोपामाइन र ग्लुटामेट जस्ता न्युरोट्रान्स मिटरसहित केही प्राकृतिक रूपमा हुने मस्तिष्क रसायनमा समस्या आउँदा स्किजोफ्रेनिया हुन सक्छ ।
कसलाई देखिन्छ यो रोग ?
सामान्यतया १० वर्षका बालबालिकादेखि वृद्धा उमेरका व्यक्तिसम्ममा यो रोग देखिन सक्छ । जसमध्ये पनि २० देखि ४० वर्षसम्मको उमेर समूहलाई यो बढी देखिएको विभिन्न तथ्यांकमा उल्लेख छ ।
किन हुन्छ ?
सिजोफ्रेनिया कुनै किसिमको स्वास्थ्य परीक्षणबाट पत्ता नलाग्ने भएकाले हालसम्म यसको ठोस कारण प्रमाणित भइसकेको छैन । तसर्थ, यसको लागि बिरामीको व्यवहारलाई नै अध्ययन गर्नुपर्ने हुन्छ ।
तर पनि केही कारण जिम्मेवार मानिन्छ । यद्यपि, लागूपदार्थ सेवन तथा वंशाणुगत रोगको जोखिमलाई बढावा दिन्छ । यसबाहेक जन्मजात जटिलताहरू कुपोषण वा अन्य भाइरसको जोखिमले मस्तिष्कको विकासलाई असर पार्दा पनि यो रोग लाग्न सक्छ ।
बाल्यकालमा कुनै न कुनै मानसिक पीडाको सिकार हुँदा पनि यो रोग विकास हुन सक्छ । उदाहरणका लागि सानै उमेरमा आमाबाबुमध्ये एकको मृत्युले पनि बच्चालाई सिजोफ्रेनिया जस्ता गम्भीर समस्याबाट ग्रस्त बनाउन सक्छ ।
कसरी थाहा हुन्छ ?
सिजोफ्रेनिया भएका व्यक्तिमा लक्षणहरू फरक–फरक देखिन सक्छन् । लक्षण आफैं आउने जाने पनि हुन सक्छ । यसबाहेक यी लक्षण सम्पूर्ण जीवनकालमा दुई वा तीन पटक मात्र देखा पर्न सक्छन्् ।
भ्रम
सिजोफ्रेनिया हुँदा केही यस्ता आशंका र भ्रम पनि मनमा पर्छन्, जुन वास्तवमा सत्य हुँदैनन् । मनमनै कोही छ, कसैको आवाज सुनेको जस्तो लाग्न सक्छ । त्यसले उनीहरुलाई त्रसित गराउने वा कल्पना गरिएको व्यक्ति वा आवाजले उसलाई हानि पुर्याउन सक्छ । परिवारलाई नै सखाप पार्न आयो भन्ने जस्तो भ्रम पैदा हुन सक्छ ।
सोच्ने र व्यवहार गर्ने तरिका असामान्य
सिजोफ्रेनियाबाट पीडित व्यक्तिको सोच्ने र बोल्ने तरिकामा फरक आउन थाल्छ । विशेषगरी यदि उनीहरूलाई कुनै प्रकारको प्रश्न सोधियो भने उनीहरुको जवाफ सामान्य व्यक्तिको जवाफभन्दा पूर्ण रूपमा फरक दिन सक्छन् ।
साथै केही अर्थहीन शब्दहरू प्रयोग गर्ने जुन सामान्य मानिसले बुझ्न सक्ने क्षमतामा पनि नहुन सक्छ ।
अव्यवस्थित रहनु
यी लक्षण धेरै रूपमा देखा पर्न सक्छन्, कहिले उग्र हुने, कहिले शान्त हुने, कहिले एकोहोरो भएर एकै ठाउँमा बसिरहने, कसैको कुरा नसुन्ने, अनुपयुक्त वा अनौठो आसनमा बस्ने र सुत्ने, कसैले बोलाएमा प्रतिक्रिया नदेखाउने जस्ता लक्षण देखिन्छन् ।
त्रासमा रहनु
सिजोफ्रेनियाभएका प्रायः व्यक्ति एक्लै बस्ने, ढोका थुन्ने, ढोका वा झ्याल कसैसँग नबोल्ने, बत्ती निभाउने, बोल्न झर्को मान्ने जस्ता समस्या देखिन्छ ।
नेपालमा बिरामीको अवस्था
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार विश्वमा २० लाख मानिस सिजोफ्रेनियाबाट पीडित छन् । अन्य रोगको तुलनामा यसका घटना कम भए पनि सिजोफ्रेनिया अप्रत्यासित रुपमा बढी छ ।
नेपालमा पनि यसबाट युवादेखि वृद्धसम्मलाई पिरोलेको छ । व्यक्तिले सामान्यभन्दा बढी असामान्य व्यहार गर्न थालेमा पागल बन्ने डरले पनि घरमै थुनेर राख्ने गरिन्छ, जसले पहिचान हुन नसकी अवस्था जटिल बन्न सक्छ ।
पहिचान र उपचार
विश्व स्वास्थ्य संगठनको नियमनमा रहेर तालिमप्राप्त र अनुभवी मनोचिकित्सकले बिरामीको भावना, मनोदशा, उसले दिने प्रतिक्रिया, शरीरको हाउभाउ र पारिवारिक इतिहास हेरेर मात्र सिजोफेर्निया भएको पत्ता लगाइन्छ ।
त्यसपछि औषधिको सहायताले उनीहरुको व्यवहारलाई नियन्त्रण गर्न सकिन्छ । बिरामीको प्रकृतिअनुसार औषधि चलाइन्छ । थोरै मात्र असर गरेको छ भने थोरै डोजको औषधि चलाइन्छ । गम्भीर अवस्थाका बिरामीलाई हाई डोजको औषधि पनि चलाउनुपर्ने हुन्छ । उनीहरुलाई दिने औषधि लामो समय वा आजीवन पनि खानुपर्ने अवस्था हुन्छ । पटक–पटक फलोअप गराउँदै उनीहरुको अवस्थालाई सुदृढ गर्दै लगिन्छ । औषधि उपचारसँगै उनीहरुलाई माया, प्रेम र स्नेहको पनि उत्तिकै आवश्यकता हुने हुँदा परिवारले यी पक्षमा विशेष ध्यान दिनुपर्छ ।
(मनोचिकित्सक पाण्डे ललितपुर पुल्चोकस्थित अल्का अस्पतालमा कार्यरत छन् । उनीसँग मनिषा थापाले गरेको कुराकानीमा आधारित)