महिलाहरुलाई राज्यका सवै क्षेत्रमा समान पुहँच पुर्याउनु पर्ने बुधबार परासीमा आयोजित एक अन्तक्रिया कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा रामग्राम नगरपालिकामा महिला सशक्तिकरण भन्ने विषयमा अन्तरक्रिया गरिएको थियो ।
रोटरी क्लव अफ नवलपरासीका अध्यक्ष सुमन गोपाल आचार्यको अध्यक्षता र रामग्राम नगरपालिकाका नगर उपप्रमुख संझना चौधरीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा उपप्रमुख चौधरीले रामग्राम नगरपालिका भित्रका महिलाहरुको हक, हित र अधिकार संरक्षण साथै विकासकालागि नगरपालिकाले ठोस योजना बनाएको बताउनु भयो । विभिन्न तालिम, गोष्ठीका साथै उद्यमशील सीप दिएर महिलाहरुमा आर्थिक रुपमा सबल बनाउनु पर्नेमा उहाँले जोड दिनु भयो ।
यस्तै कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख बिनोद शिलवालले सामाजिक सञ्जालको गलत प्रयोगबाट पनि महिलाहरु हिंसामा परेको बताउनु भयो । उहाँले हिंसा न्यूनिकरणका लागि प्रहरीले जिल्ला महिला सेल मार्फत काम गरिरहेको बताउनु भयो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक भोजराज पाण्डेले महिलाहरु हिंसाजन्य घटनामा निकै सचेत भएको बताउनु भयो । उहाँले घरेलु हिंसाका घटनामा मिलापत्र गरेर जाने कुराले घटनालाई बढाउन सहयोग गर्छ, त्यसैले हिंसाजन्य घटनामा कानून बमोजिम कारवाही गर्नु पर्ने बताउनु भयो ।
यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै उपभोक्ता हित संरक्षण मंच रामग्रामकी अध्यक्ष यमकुमारी सुवेदीले लैगिंक समानता भनेर मात्र नपुग्ने भन्दै महिलाहरुलाई विशेष अधिकार र अवसर दिनु पर्नेमा जोड दिनु भयो । उहाँले रामग्रामका ग्रामीण क्षेत्रका महिलाहरुलाई अगाडि वढाउन नगरपालिकाले ठोस नीति ल्याउनु पर्ने बताउनु भयो ।
यस्तै कार्यक्रममा कानूनी सहायता केन्द्र नवलपरासीका अधिवक्ता श्रद्धासुमन आचार्यले विभिन्न कानूनले महिलाहरुलाई अधिकार सम्पन्न बनाएको भएपनि समाजमा महिलामाथि भेदभाव कायमै रहेको बताउनु भयो । उहाँले श्रम ऐन अनुसार महिला र पुरुषलाई समान काम र समाज ज्याला दिनु पर्ने भनिएपनि त्यसको न्यायिक कार्यान्वय नभएको उल्लेख गर्नु भयो ।
कार्यक्रममा रोटरी क्लव अफ नवलपरासीका सदस्य एवं कार्यक्रम संयोजक जीवनकला गौतम, क्लवका कोषाध्यक्ष उर्मीला वानिया, क्लवका सदस्य सुमित्रा चौधरील,महिला नेतृ रिंगला यादव र महिला उद्यमी लक्ष्मी चौधरी लगायतले महिला दिवसको चर्चा गर्नु भएको रोटरी क्लव अफ नवलपरासीका सचिव बिनिराम भुषालले जानकारी दिनु भयो ।