होलि पर्व २०७९ को अवसरमा आज पश्चिम नवलपरासी सहित तराई मधेशमा होलि पर्व हर्षोउल्लासपूर्व वातावरणमा मनाइएको छ । असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवम् सामाजिक एकताको पर्वका रुपमा होलि पर्वलाइ मानिन्छ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने होली पर्व नेपालमा सोमबार हिमाली र पहाडी जिल्लामा र मंगलबार तराई मधेश क्षेत्रमा मनाइएको छ ।
वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व परम्परागत रूपमा विभिन्न रङ र लोला खेली एक आपसमा विभिन्न रङ्ग तथा अबिर लगाएर मनाउने प्रचलन छ । त्रेता युगमा दैत्यराज हीरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ । त्यसै बेलादेखि शक्तिको दुरुपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली अर्थात फागु खेल्ने परम्परा बस्दै आएको हो ।
नवलपरासीमा होलि पर्व निकै धुमधामकासाथ मनाइएको छ । आज सरकारले सार्वजनिक विदा दिएका कारण सोमबार नै विभिन्न सरकारी कार्यालयहरु, संघसंस्थामा कार्यरत व्यक्तिहरुले रंग साटासाट गरेर मनाएका थिए ।
यसैवीच राटेरी क्लव अफ नवलपरासीले मंगलबार परासीमा एक कार्यक्रमको आयोजना गरी होलि पर्व मनाएको छ । रोटरी क्लव अफ नवलपरासीका अध्यक्ष सुमन गोपाल आचार्यको अध्यक्षता र जिल्ला समन्वय समितिका प्रमुख भगौती प्रसाद यादव (रुदल) को प्रमुख आतिथ्यमा शुभकामना आदान प्रदान गरिएको हो । सो अवसरमा जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी प्रकाश देवकोटा, रोटरी क्लव बुटवल साउथकी डाइरेक्टर प्रभा ज्ञवाली, नोमिनी अध्यक्ष सुनिल कसौधन, कार्यक्रमका संयोजक चन्द्रमणी चौधरी लगायतले होली पर्वको चर्चा गर्नु भएको महासचिव बेनीराम भुषालले जानकारी दिनु भयो ।
यस्तै रामग्राम जेसीज बर्ष २०२३ ले प्रत्येक बर्ष जस्तै यस बर्ष पनि होलि मिलन समारोहको आयोजना गरी होलि पर्व मनाएको छ । रामग्राम जेसीजका अध्यक्ष वेनीमाधव वश्यालको अध्यक्षता र लुम्बिनी प्रदेश सभा सदस्य बैजनाथ जयसवालको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको हो । सो अवसरमा रामग्राम जेसीज, रामग्राम महिला जेसीज, विभिन्न सामाजिक क्षेत्रका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा नेपाल जेसीजका पूर्व राष्ट्रिय उपाध्यक्ष यमकुमारी सुवेदी, पूर्व राष्ट्रिय उपाध्यक्ष संन्दिप अग्रहरी, उपभोक्ता हित संरक्षण मंचका केन्द्रीय सदस्य रामजी ज्ञवाली, लेखापढी व्यवसायी समितिका केन्द्रीय सदस्य अर्जुन क्षेत्री रामग्राम महिला जेसीजकी अध्यक्ष जोगमाया चौधरी लगायतले जेसीज अभियान र होलि पर्वको चर्चा गर्दै शुभकामना व्यक्त गरेको जेसीजका महासचिव विष्णु राज रावले जानकारी दिनु भयो ।