नवलपरासीको सरावलमा जारी दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी आयोजक आर्दश मावि खोखरपुराले हात पारेको छ । फागुन १ गतेबाट शुरु भएको प्रतियोगितामा ११ गोल्डकाे उपाधी प्राप्त गरी आर्दश मा.वि. प्रथम भएको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगदीश चौधरीको अध्यक्षता तथा सरावल गाउँपालिकाका अध्यक्ष सुखाडी प्रसाद चौधरीको प्रमुख आतिथ्यमा भएको समापन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बासमती हरिजन, गाउँपालिकाका शिक्षा शाखा प्रमुख तुलसी अधिकारी, वडा नम्बर ५ का अध्यक्ष लक्ष्मण चौधरी, वडा नम्बर ६ का अध्यक्ष छोटेलाल गुप्ता, जिल्ला खेलकुद विकास समितिका सदस्य रामकुमार कुर्मी लगायतले बिजेता खेलाडिहरुलाइ शुभकामना व्यक्त गर्नु भएकाे थियो ।
सरावल गाउँपालिकाका १६ विद्यालयको सहभागिता रहेको प्रतियोगितामा भलिबल, कपड्डी, एथेलेटिक्स गरी तीन विद्यामा खेल गराईएको थियो । भलिबलमा छात्र तर्फ सिद्धार्थ सेकेन्डरी स्कुल गोबरहीया, छात्रा तर्फ महेन्द्र मावि सरावल प्रथम भएका छन् । यस्तै कपड्डी विद्यामा छात्र तर्फ महेन्द्र मावि सरावल र छात्रा तर्फ आर्दश मावि खोखरपुरा प्रथम भएका छन् भने एथलेटिक्स तर्फ आर्दश मावि खोखरपुरा प्रथम, जनता मावि मनरी द्वितीय र जनता मावि भुजहवा तृतीय भएका आयोजकले जनाएको छ ।
विजेता सम्पुर्णलाई कप, मेडल, प्रमाण पत्र सहित सम्मान गरिएको छ । सरावल गाउपालिकामा आर्थिक वर्ष २०७९÷८० मा खेलकुद विकास र प्रर्वद्धनका लागि १० लाख, अध्यक्ष कपका लागि १० लाख, उपाध्यक्ष कपका लागि ५ लाख र राष्ट्रपति खेलकुदका लागि ५ लाख गरि कुल ३० लाख वजेट विनियोजन गरिएको गाउँपालिकाले जनाएको छ ।