परासी । बेरोजगार व्यक्तिहरूलाई न्यूनतम रोजगारीको प्रत्याभूति गर्न सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम २०७५ सालदेखि शुरुवात गरेको हो । सोहि कार्यक्रमलाई निरन्तरता दिंदै नवलपरासी जिल्लाका सातै वटा पालिकाहरूले कार्यक्रम कार्यान्वयन गर्दै आइरहेका छन् ।
चालु आर्थिक बर्ष २०८१।०८२ का लागि जिल्लामा कुल १ हजार ८११ जना बेरोजगार ब्यक्तिहरू विभिन्न पालिकाहरूमा सूचिकृत भएका छन् । जिल्लामा सवैभन्दा वढी बेरोजगारको सूचिमा प्रतापपुर गाउँपालिकाका छन् । प्रतापपुरमा कुल ४ सय ८६ जना सूचिकृत भएका छन् । भने सबैभन्दा कम पाल्हीनन्दन गाउँपालिकामा ५२ जना रहेका छन् ।
प्रधानमन्त्री रोजगार कार्यक्रममा बर्दघाट नगरपालिकामा ३ सय ८९ जना, सुनवल नगरपालिकामा ३ सय ५५, रामग्राम नगरपालिकामा २ सय ७१ जना, सुस्ता गाउँपालिकामा २ सय ५ जना र सरावल गाउँपालिकामा जम्मा ५३ जना बेरोजगारको सूचीमा सूचिकृत रहेका छन् । सूचिकृत व्यक्तिहरू मध्ये महिलाहरूको संख्या ९५ प्रतिशत रहेको छ ।
यस बर्ष बर्दघाट नगरपालिका, सुस्ता गाउँपालिका र प्रतापपुर गाउँपालिकामा सीपमूलक तालिम बापतको रकम आएको छैन भने अन्य ४ वटा पालिकामा सीपमूलक कार्यक्रमको तयारी गर्न लागिएको छ । सुनवल नगरपालिकाले गत बैशाख ८ गतेदेखि ४० जनाका लागि ५० दिनेको सीपमूलक तालिम शुरु गरेको छ । रामग्राम, पाल्हीनन्दन र सरावल गाउँपालिकाले केही दिनमै तालिम शुरु गर्ने रामग्राम नगरपालिकाका रोजगार संयोजक सुमन ज्ञवालीले जानकारी दिनुभयो ।
पालिकाहरूले सूचिकृत भएका बेरोजगार व्यक्तिहरूमध्येलाई छनौट गरी सीपमूलक तालिम र दैनिक ज्यालादारीमा काम दिने गरेको छ । दैनिक ज्यालादारीमा दैनिक ६ सय ६८ रुपैयाका दरले भुक्तानी गरी कम्तिमा १०० दिनको रोजगारी सुनिश्चित गरिएको छ ।
