परासी । नवलपरासीमा बालबालिकाको पोषणको अवस्था लेखाजोखा करिव अन्तिम चरणमा पुगेको छ । ६ देखि ५९ महिनाका बालबालिका लक्षित पोषण लेखाजोखाको समूदाय स्तरको खोजपड्ताल अन्तिम चरणमा पुगेको बताइएको छ ।
बुधवार जिल्ला स्तरीय परियोजना सल्लाहाकार समितिको बैठकमा खोजपड्ताल अन्तिम चरणमा पुगेको बताइएको हो । जिल्ला समन्वन समिति नवलपरासीका प्रमुख भगौती यादवको अध्यक्षतामा भएको बैठकमा सो कुरा जानकारी गराइएको हो ।
जिल्लाका सातै पालिकामा गरिएको खोजपड्ताल अभियानमा २२ हजार ९१४ जना बालबालिकाको स्क्रीनिङ्ग गरिएको छ । सो कार्यबाट पाल्हीनन्दन गाउँपालिकामा सवैभन्दा बढी बालबालिका कुपोषित भेटिएको छन् । गाउँपालिकामा अतिशीघ्र कुपोषण (साम) हुने बालबालिकाको संख्या ३२ रहेको भने शिघ्र कुपोषण (माम) को संख्या १८३ पाइएको हो ।
यस्तै स्क्रिनिङ्गकै क्रममा सुनवल नगरपालिकामा सवैभन्दा कम कुपोषित बालबालिका भेटिएका छन् । अतिशीघ्र कुपोषण(साम) का ४ जना र शीघ्र कुपोषण (माम) का १२४ जना फेला परेका हुन् ।
यस्तै प्रतापपुर गाउँपालिकाम साम बालबालिका १३ जना माम बालबालिका १४६ जना, सरावल गाउँपालिकामा साम बालबालिका १३ जना माम बालबालिका १६८ जना, सुस्ता गाउँपालिकामा साम बालबालिका २७ जना माम बालबालिका १५२ जना, बर्दघाट नगरपालिकामा साम बालबालिका २६ जना र माम बालबालिका १५९ जना र रामग्राम नगरपालिकामा साम बालबालिका २४ जना र माम बालबालिका १७१ जना रहेको तथ्याङ्ग बेस नेपालले सार्वजनिक गरेको हो ।
जिल्लामा बेस नेपालले पोषण मार्फत जीवन रुपान्तरण परियोजना हेलेनकेलर इन्टरनेशनलको सहकार्यमा कार्य गरिहेको बेस नेपालका शालिकराम पोखरेलले जानकारी दिनुभयो ।
त्यसअघि जिल्लाका सरोकारवालाहरुले बर्दघाट नगरपालिका वडा नं. ७ मा सञ्चालन गरिएको खोडपडताल, बर्दघाट र प्रतापपुर गाउँपालिका स्वास्थ्य चौकी र आधारभूत अस्पतालमा अनुगमन पनि गरेको थियो ।