आज वसन्त पञ्चमी अर्थात हिन्दू धर्मावलम्बीहरूको पर्व । आजकै दिन श्रद्धा पूर्वक विद्याकी देवी सरस्वतीको पूजा–आराधना गरिन्छ । शास्त्रहरूमा वसन्त पञ्चमीलाई ऋषि पञ्चमी भनेर उल्लेख गरिएकोछ, र पुराण–शास्त्रहरू तथा अनेक काव्य ग्रन्थहरूमा पनि अलग–अलग ढङ्गले यसको चित्रण गरिएको छ ।
सृष्टिको प्रारम्भिक कालमा भगवान विष्णुको आज्ञा अनुसार ब्रह्माले जीवहरूको, विशेष गरी मनुष्य योनिको रचना गरे । आफ्नो सृष्टिसँग उनी खुशी थिएनन् । उनलाई केही कमि भएको भान हुन्थ्यो । जसको कारण चारेैतिर मौनता छाएको थियो । विष्णुसँग अनुमति लिएर ब्रह्माले आफ्नो कमण्डलुबाट जल छरे, पृथ्वीमा जलकण छरिने बित्तिकै कम्पन हुनथाल्यो । यसपछि वृक्षहरूका बीचबाट एक अद्भुत शक्तिको उत्पत्ति भयो । यो एक चतुर्भुजी सुन्दर स्त्रीको थियो जसको एक हातमा वीणा तथा अर्को हातमा वर मुद्रा थियो । अरु दुई हातहरूमा पुस्तक र माला थिए । ब्रह्माले देवीसँग वीणा बजाउने अनुरोध गरे । जब देवीले वीणाको मधुरनाद गरिन्, संसारका समस्त जीव–जन्तुहरूलाई वाणी प्राप्त भयो । जलधारामा कोलाहल व्याप्त भयो । हावा चल्दा सरसर आवाज आउँन थाल्यो अथवा शव्दको प्रादुर्भाव भयो । तब ब्रह्माले ती देवीलाई वाणीकी देवी सरस्वती भने । संगीतको उत्पत्ति गरेको कारण यिनी संगीतकी देवी पनि हुन् भनिन्छ । वसन्त पञ्चमीको दिनलाई सरस्वतीको जन्मोत्सवको रूपमा पनि मनाइन्छ । पुराणहरू अनुसार भगवान श्रीकृष्णले सरस्वतीसँग खुशी भएर उनलाई वरदान दिएका थिए कि वसन्त पञ्चमीको दिन तिम्रो पनि आराधना गरिनेछ ।
एकपटक ऋतुहरूका राजा वसन्त ऋतुको सम्मान कार्यक्रमको आयोजना अन्य पाँचौ ऋतु जम्मा भएर गर्ने विचार गरेछन् । यसै क्रममा आफ्ना राजा वसन्तलाई अभिवादन गर्दै पाँचवटा ऋतुले आफ्नो ऋतु कालबाट आठ आठ दिन वसन्तलाई समर्पण गरेछन् । यसैले वसन्त ऋतु अरू ऋतुभन्दा ४० दिन बढी हराभरा भएर लोक जीवनलाई आनन्दमय बनाउने भएकाले यही दिनदेखि वसन्त याम आएको हो भन्ने भनाइ छ । यसैले यो दिनलाई वसन्त पञ्चमीको नामले चिनिने मान्यता छ । हातको अघिल्लो भागमा लक्ष्मी, मध्य भागमा सरस्वती र मूल भागमा ब्रह्माको निवास छ । अतः यही कर्मवादी हातलाई ब्रह्माको सिर्जनाशीलता, लक्ष्मीको सम्पन्नतालाई जोड्ने र गतिशील संसारलाई मोड्न मध्यभागमा सरस्वतीलाई राखेर सम्मान गर्ने परम्परा रहि आएको छ ।
संसारका सर्जक ब्रहृमाको मुखबाट उदय भएकी महासरस्वती सम्पूर्ण प्राणीहरूकी वाग्देवी अर्थात् वाणीकी देवी हुन्। राजहंस वाहन भएकी देवीका चार हातमध्ये एउटामा वीणा, एउटामा स्फटिकको माला, अर्कोमा पुस्तक र अभय मुद्रा रहेका छन्। सेतो वस्त्रले सजिएकी हरदम मुस्कुराइरहन्छिन् र सम्पूर्ण मानवजातिलाई मन्द मुस्कानका लागि प्रेरित गर्छिन्।
स्वर, सङ्गीत, ताल, लयकी श्रोत स रे ग म प ध नि सं देखि नृत्यकला, कार्यकुशलता, ज्ञानको भण्डार, वास्तुकला, शिल्पी, प्रविधि, हातको सीप, वाणीको माधुर्य, गला र कलाको आकर्षणको केन्द्र र निरन्तर साधनाबाट साध्य प्राप्तिमा प्रेरित गर्ने सरस्वतीका विभिन्न साधना र पूजाका विधान छन् । बौद्धधर्मीहरूले सरस्वतीलाई मञ्जुश्रीका नामले चिन्दछन् भने विभिन्न स्वरूपका चिन्तन गर्दै बालबालिका अक्षरम्भ गर्छन् भने बुद्धिजीवीहरू विशेषज्ञता प्राप्त गर्ने प्रयास गर्छन्। संस्कार, सभ्यता र संस्कृतिकी श्रोत महादेवी सरस्वती जयन्तीका दिन नाक, कान, छेड्ने देखि अन्य उद्यमशीलताका कार्यहरू आरम्भ गर्दा कुनै साइत जुराउनु पर्दैन। विद्यार्थीहरू घरै बसेर पनि सरस्वती साधना गर्छन् भने विद्यालय, महाविद्यालय वा आफ्ना पराक्रम स्थलहरूमा वा मन्दिर विशेषमा उनको उपासना गर्ने गर्छन्। सबैभन्दा उत्तम धन भनेको विद्या नै हो जसका धेरै प्रकार सरस्वतीका प्रसिद्ध पीठहरू मध्ये काठमाडौँ उपत्यकामा जय वागीश्वरी, स्वयम्भूमा मञ्जुश्री, हाँडीगाउँ, बल्खु, गैह्रीधारा, भक्तपुर जिल्लाको थाकलमाठको सरस्वती मन्दिर र हनुमानघाटको नीलसरस्वती ललितपुरको लेलेस्थित सरस्वती मन्दिरहरूमा सरस्वती जयन्तीका दिन विशेष भीड लाग्ने गर्दछ। तराई क्षेत्रमा माटाका सरस्वती मूर्ति बनाई पूजा गर्ने चलन छ। मूर्तिमा प्राण प्रतिष्ठा गरी धूमधाम पूजा र बाजागाजा गरी जलाशयमा बिसर्जन गर्ने चलन देखिन्छ।ृ३े श्रीपञ्चमीका दिन कामदेव र रतीको पनि पूजा गरिन्छ। वसन्तका प्रतीक कामदेव र उनकी स्त्री रतीको विशेष स्मरण गर्ने दिन वसन्तको आगमन उत्सव वसन्त राग गाउने पनि चलन रहेको छ। प्राचीन कालमा नेपालमा वेदाङ्ग ज्योतिषका आधारमा काल गणना गरिन्थ्यो ।
वर्तमान सरकारी पञ्चाङ्ग निर्णायक समितिद्वारा निर्णित तिथि मिति करीव एक महिना जति फरक परेको वास्तविकता त नेपाल सरकारले पर्वसुधार आयोग गठन गरी पर्व सुधार गरेर क्यालेणडर निर्माण गरी प्रचार प्रसार गरेको कुराबाट पनि बुझ्न सकिन्छ ्र अब यस तर्फ सबैको घ्यान जानु जरुरी छ्र काव्यविनोदी, स्रष्टा, सर्जक, साहित्य, कलाका साधकहरूका लागि वसन्त राग साधनाको श्रोत नै हो। कला र गलाका पारखीहरूका लागि सरस्वती साधना गर्ने प्रमुख दिन श्रीपञ्चमी वा वसन्तपञ्चमीलाई मानिन्छ ।