परासी । नवलपरासी जिल्लाको सरावल गाउँपालिकाले चालु आ.ब.को फाल्गुन मसान्तसम्म ४५ प्रतिशत योजना सम्पन्न गरेको छ । कुल एक सय ४८ वटा योजना मध्ये २४ वटा सम्पन्न भएका र ४४ वटा योजना सम्पन्न हुने चरणमा रहेको गाउँपालिकाले जनाएको हो ।
चालु आ.ब. २०८१।०८२ मा गाउँपालिका स्तरका ५९ वटा र विभिन्न वडा स्तरका ८९ वटा गरी एक सय ४८ वटा योजना रहेका छन् । चालु आ.ब.को आठ महिना बितिसक्दा अझै ८० वटा योजना सम्भौता गर्न बाँकी छन् । गाउँपालिकाका कुल योजना मध्ये ५५ प्रतिशत योजनाहरु सम्झौताको प्रकृयामै रहेको गाउँपालिकाका योजना प्रमुख इश्वरी खनालले जानकारी दिनुभयो ।

चालु आ.ब.मा सबैभन्दा वढी ३८ वटा योजना सरावल गाउँपालिका वडा नं. ३ का छन् । जसमध्ये ११ वटा कार्यसम्पन्न भएका छन् भने १० वटा योजनाहरु सम्पन्न हुने चरणमा रहेका छन् । सोही वडामा अझै १७ वटा योजनाहरुको सम्झौता समेत भएको छैन ।
यस्तै सबैभन्दा कम योजना वडा नं. ७ रहेका थिए । जसमा १० वटा योजना मध्ये ४ वटा योजना सम्झौता भई कार्यान्वयन हुँदा ५ वटा योजना अझै सम्झौता नै नभएको अवस्था छ । सो वडामा गएको आठ महिनामा जम्मा १ वटा योजना सम्पन्न भएको छ ।
यस्तै चालु आ.ब.मा सरावल गाउँपालिका वडा नं १ मा २५ योजना मध्ये १२ वटा, वडा २ मा २६ योजना मध्ये २०, नं. ४ मा १९ मध्ये १० वटा, वडा नं. ५ मा १६ मध्ये ८ र वडा नं. ६ मा १४ मध्ये ८ वटा योजना अझै सम्झौता हुन बाँकी रहेको योजना प्रमुख खनालले जानकारी दिनुभयो ।
सरावल गाउँपालिकामा फाल्गुन मसान्तसम्म ४५ प्रतिशत योजना सम्पन्न हुँदा कुल ३४ दशमलव ८३ प्रतिशत खर्चभएको लेखा अधिकृत नारायण पाण्डेले बताउनु भएको छ ।
