
नवलपरासी । शनिबार देशभर नेपाल पत्रकार महासंघले कालो झन्डा बोकेर विरोध प्रदर्शन गरेको छ। आफ्नो ७१ औँ स्थापना दिवसको पूर्व सन्ध्यामा उत्सव मनाउने बेला पत्रकार सुरेश रजकको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै महासङ्घ देशभर विरोध प्रदर्शनमा उत्रिएको हो।
महासंघ केन्द्र संगै महासंघका प्रदेश समिति र ७७ वटै जिल्ला शाखाहरूले पनि पत्रकार रजकको हत्या तथा पत्रकार र सञ्चारगृहमाथि भएको आक्रमणको विरोधमा प्रदर्शन गरेका छन्।
यसैबीच नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासी शाखाले पनि शनिबार परासीमा विरोध सभा गरेको छ ।
पत्रकार महासंघले आयोजना गरेको विरोधसभामा राजनीतिक दल, नागरिक समाज र अन्य पेशाकर्मी र संघसंस्थाहरूको एक्यबद्धता रहेको थियो।
महासङ्घले शुक्रबार काठमाडौँको तिनकुनेमा पत्रकार सुरेज रजकको हत्या भएको विरोधमा आन्दोलन गरेको हो। कार्यक्रमा बोल्दै प्रदेश सभा सदस्य वैजनाथ कलवारले पूर्व राजालाई संविधान मानेर राजनीति मा आउन चुनौती दिनुभयो ।
यस्तै, नेपाल बार एसोसियसन नवलपरासीका सचिव भवराज पाण्डे, उद्योग वाणिज्य संघ नवलपरासीका उपाध्यक्ष गिरीराज पाण्डे, नागरिक समाजका पुर्व अध्यक्ष शम्भु उपाध्याय, नागरिक निगरानी संस्थाका अध्यक्ष रामजी ज्ञवालीले काठमाडौँको तिनकुने क्षेत्रमा भएको घटना निन्दनिय भएको बताउनुभयो ।
कार्यक्रमको नेतृत्व नेपाल पत्रकार महासंघ नवलपरासीका जिल्ला अध्यक्ष केशव पराजुली गर्नुभएको थियो ।
सो क्रममा महासङ्घका उपाध्यक्ष बिकास अधिकारी लगायतले बोल्नुभएको सचिव अनिल यादवले जानकारी दिनुभयो ।
यसैबीच नेपाल पत्रकार महासंघले पत्रकार सुरेश रजकको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै आउँदो तीन दिन देशव्यापी आन्दोलनको घोषणा गरेको छ ।
महासङ्घले आइतबार कालोपट्टी बाँधेर सञ्चार गृहमा काम गर्ने, सोमबार देशभरबाट गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाउने र मङ्गलबार तिनकुने घटनाको विषयमा सञ्चार गृहका सम्पादक र सरोकारवाला संघ संगठनका अगुवाहरूसँग गम्भीर छलफल गर्ने कार्यक्रम तय भएको जनाएको छ।