नवलपरासी । आज विश्व पानी दिवस, विश्व पानी दिवसको अवसरमा शनिवार पश्चिम नवलपरासीमा पानीको महत्व बुझाउन भजन किर्तन गरिएको छ । राष्ट्रिय लोक भजन चुट्का संस्कृति संरक्षण प्रतिष्ठान नेपाल सुनवलले पानीको महत्वका विषयमा साँस्कृतिक प्रस्तुतिकरण गरेको हो ।
सुनवल नगरपालिका स्थित सुनवल खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको परिसरमा एक कार्यक्रमका बीच भजन प्रस्तुतिकरण गरिएको थियो । भावि पुस्ताका लागि पानी जोगाऔ, भू—उपयोग र संरक्षण गरौ, बृक्षारोपण गरी ताल तलैया र हिमनदि जोगाऔ भन्ने सन्देश सहितका भजन प्रस्तुत गरी दिवस मनाइएको हो ।
खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नवलपरासीको आयोजना, खानेपानी तथा सरसफाई कार्यालय परासी, सामुदायिक रेडियो परासी ९०.२ मेगाहर्ज र सुनवल खानेपानी संस्थाको सहकार्यमा कार्यक्रम गरिएको हो ।
खानेपानी जिल्ला महासंघ नवलपरासीका अध्यक्ष देविदत्त सापकोटाको अध्यक्षता र जिल्ला समवन्वय समिति नवलपरासीका प्रमुख भगौती यादव रुदलको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको छ । कार्यक्रममा बोल्दै प्रमुख यादवले पानीको महत्व र संरक्षणका विषयमा व्यापक जनचेतना जगाउनु पर्ने बताउनु भयो ।
सो अवसरमा खानेपानी सरसफाई लुम्बिनी प्रदेश महासंघका अध्यक्ष थानप्रसाद गैरे, खानेपानी सरसफाई कार्यालयका प्रमुख इन्जिनियर प्रकाश न्यौपाने, सुनवल नगरपालिका वडा नं. ४ का अध्यक्ष बालकृष्ण पंगेनी, जिल्ला महासंघका सल्लाहाकार बृहस्पती अधिकारी, स्वास्थ्य कार्यालय नवलपरासीका तथ्याङ्क अधिकृत यवदेव न्यौपाने, सुनवल खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष विष्णुप्रसाद न्यौपाने, वर्दघाट खानेपानी संस्थाका अध्यक्ष दिपक लम्साल, सामुदायिक रेडियो परासीका प्रवन्ध निर्देशक मेघराज गौतम लगायतले पानीको महत्वका विषयमा बोल्नु भएको खानेपानी महासंघका जिल्ला सचिव मुक्तिबहादुर भण्डारीले जानकारी दिनुभयो ।
