बुटवल । लुम्बिनी प्रदेशमा सञ्चालित आमसञ्चार माध्यमका सञ्चालकहरुले लुम्बिनी प्रदेशको दोश्रो मिडिया सम्मेलन शुरु गरेका छन् । दुई दिनसम्म चल्ने सम्मेलनको शुक्रवार बुटवलमा शुभारम्भ गरिएको हो ।
प्रदेशका १२ वटै जिल्लाका आमसञ्चार माध्यमका सञ्चालकहरुबीच सञ्चार माध्यमहरुका समस्या र चुनौती बारे छलफल तथा सम्वाद गरिएको छ । प्रदेशमा सञ्चालित रेडियो, टेलिभिजन, पत्र पत्रिका र अनलाईन सञ्चार माध्यमका सञ्चालकहरु दोस्रो मिडिया सम्मेलनमा सहभागी भएका छन् ।
कार्यक्रम प्रकाशन तथा प्रसारण संघ लुम्बिनीका अध्यक्ष नवराज कुँवरको अध्यक्षता र बुटवल उपमहानगर पालिकाका प्रमुख खेलराज पाण्डेको प्रमुख आतिथ्यमा भएको हो ।
कार्यक्रममा उपमहानगर प्रमुख पाण्डेले सञ्चारगृहरुको संरक्षण गर्ने योजना अघि सार्दै बुटवलमा मिडियाग्राम बनाउने आफ्नो सोंच रहेको बताउँनु भयो । उहाँले बुटवलको पर्यटन र समग्र विकासमा मिडियाले खेलेको भूमिकाबारे चर्चा गर्दै संचार जगतले भोग्नु परेको आर्थिक अभावलाई कम गर्न आफूले निरन्तर पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
सम्मेलनको पहिलो दिन शुक्रवार मिडिया क्षेत्रका विभिन्न विषयमा समूहगत छलफल गरिएको छ । सम्मेलनमा ७ वटा विभिन्न सत्र निर्माण गरी अन्र्तक्रिया सञ्चालन गरिएको संघका सचिव माधव नेपालले जानकारी दिनु भयो ।
‘परम्परागत मिडियाः आजको अवस्था, भोलिको बाटो’, ‘छापा माध्यम, किन र कसका लागि ?’, ‘के अनलाइन पत्रकारिता सधैका लागि हो ?’, ‘किन फस्टाउन सकेन विज्ञापन बजार ?’ भन्ने विषयमा छलफल गरिएको छ ।
यस्तै ‘अनेक संस्थाः नियमन कि नियन्त्रण?’, ‘सम्बन्धः पत्रकार र पत्रकार महासंघकोः के भयो ? के हुँदैछ ?’ लगायत विषयमा छलफल गरिएको छ ।
प्यानलगत छलफलमा नेपाल पत्रकार महासंघका निर्वतमान अध्यक्ष विपुल पोखरेल, महासंघका अध्यक्ष निर्मला शर्मा, सूचना तथा प्रसारण विभागका महानिर्देशक प्रदीप परियार, न्यूनतम पारिश्रमिक निर्धारण समितिकी अध्यक्ष संगीता खड्का, गीत संगीत रोयल्टी संकलन समाजका अध्यक्ष सुरेश अधिकारी आफ्ना कुरा राख्नु भएको थियो ।
यस्तै वहस कार्यक्रममा विज्ञापन वोर्डका अध्यक्ष लक्ष्मण हुमागाईं, नेपाल उद्योग वाणज्य महासंघका केन्द्रीय उपाध्यक्ष हेमराज ढकाल लगायत दर्जनौ विज्ञहरुले छलफलमा भाग लिनु भएको संघका वरिष्ठ उपाध्यक्ष विष्णु भुसालले बताउनु भयो । विज्ञहरुका प्रस्तुती लगत्तै आमसञ्चार माध्यमका सञ्चालकहरुसँग प्रश्नोत्तर गरिएको सहजकर्ता सिपि खनालले जानकारी दिनु भयो ।
भोली शनिवार प्रकाशन तथा प्रसारण संघ लुम्बिनीको दोश्रो अधिवेशन हुने र नयाँ नेतृत्व पनि चयन गरिने संघका अध्यक्ष नवराज कुँवरले बताउनु भयो ।
