मीना केसी, सुनवल । नवलपरासीको सुनवलमा श्रीकृष्ण सत्मार्ग बहुआयामिक धार्मिक वन उपभोक्ता समूहको सर्वपक्षिय बैठक आइतबार सम्पन्न भएको छ ।
सुनवल नगरपालिका वडा नं. ४ स्थित धार्मिक वन उपभोक्ता समूहका अध्यक्ष भिमबहादुर थापा क्षेत्रीको अध्यक्षतामा बैठक बसेको हो । बैठकमा धार्मिक वन उपभोक्ता समूह र श्री कृष्ण धाम विकास समितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
बैठकले धार्मिक वनको डि.पि.आर. निर्माण, संघ, प्रदेश र स्थानीय सरकारसँग बजेटको माग गर्ने, धार्मिक वन क्षेत्र भित्रको झाडि सरसफाई गर्ने लगायतका विषयमा छलफल भएको अध्यक्ष थापाले बताउनु भयो । बैठकमा वनको डिपिआरबारे इन्जिनियर हेमन्त पाण्डेयले प्रस्तुतिकरण गर्नु भएको बताइएको छ ।
चालु आ.ब.२०८१।०८२ मा लुम्बिनी प्रदेश सरकारको उद्योग पर्यटन तथा सहकारी मन्त्रालयबाट बहुआयामिक ध्यानकेन्द्र भवन निर्माणका लागि ५० लाख विनियोजन गरेकोले सो कार्यान्वयनको विषयमा बैठकमा घनिभूत छलफल भएको धार्मिक वनका सचिव गौतमले जानकारी दिनु भयो ।
यसअघि वहुआयामिक ध्यानकेन्द्र निर्माणकालागि धनधान्याचल महायज्ञ सञ्चालन गरिएको थियो । सो महायज्ञबाट ३ करोड वढी रकम उठ्ने बताइएको छ ।
बैठकमा धार्मिक वनको विकासका लागि सुनवलका वहुसरोकारवालाहरुले प्रतिवद्धता व्यक्त गरेका छन् ।
कार्यक्रममा वडा नं. ४ का अध्यक्ष बालकृष्ण पङ्गेनी, महाकवि देवकोटा क्याम्पसका अध्यक्ष कृष्णप्रसाद लामिछाने, समाजसेवी एवं धार्मिक वन उपभोक्ता समूहका वरिष्ठ उपाध्यक्ष मोहनबहादुर कार्की र कृष्ण धाम बिकास समितिका अध्यक्ष यमप्रसाद ढकाल लगायतले आआफ्नो विचार व्यक्त गर्नु भएको कार्यक्रम सञ्चालक मुरली गौतमले नेपाली चेलीलाई जानकारी दिनुभयो ।
धार्मिक वन भित्र निर्माण गरिने विभिन्न संरचनाका लागि प्रारम्भिक वातावरण परिक्षण (आइ.इ.इ) गर्नु पर्ने हुन्छ । सो पुरा गरी संरचना निमार्ण गर्न धार्मिक वन दर्ता गर्ने निकाय डिभिजन वन कार्यालय नवलपरासीका सिनियर डिभिजन वन अधिकृत जीवन पंगेनीले बताउनु भयो ।
