परासी । चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि मङ्गलबार प्रत्यक्ष र समानुपातिक तर्फ उम्मेदवारी दर्ता भएको छ। देशभरका ६२ वटा आङिक क्याम्पसमध्ये ५० भन्दा बढी क्याम्पसमा उम्मेदवारी दर्ता भएको स्ववियू केन्द्रीय अनुगमन समितिले जनाएको छ।
कार्यतालिका अनुसार बुधबार उम्मेदवारको दाबी विरोध, बिहिबार उम्मेदवारी फिर्ता सहित अन्तिम नामावली प्रकाशन र चैत्र ५ गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुने छ ।

नवलपरासीमा रहेका तीनवटा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुन लागेको छ। पाल्ही बहुमुखी क्याम्पस परासी, दिव्य ज्योति बहुमुखी क्याम्पस वर्दघाट र बेलाटारी क्याम्पस बेलाटारीमा निर्वाचन हुन लागेको हो।
जिल्लाका विभिन्न राजनीतिक दलसँग आबद्ध विद्यार्थी संगठनहरूले एकल र संयुक्त प्यानल नै बनाएर उम्मेदवारी दिएका छन्। कांग्रेस निकट नेविसङ्घ, नेकपा एमाले निकट अनेरास्ववियु, माओवादी निकट अखिल क्रान्तिकारी, जनमत पार्टी निकट विद्यार्थी जनमत, जसपा नेपाल सम्बद्ध विद्यार्थी संगठन समाजवादी विद्यार्थी युनियन लगायतका विद्यार्थी संगठनहरू एकल र प्यानल नै बनाएर निर्वाचनमा जाने तय गरेका हुन् ।
रामग्राम नगरपालिका स्थित पाल्ही बहुमुखी क्याम्पस परासीमा चार जनाको उम्मेद्वारी परेको छ। सभापतिमा निरज प्रसाद धवल(नेविसङ्घ) रामजनम बानिया (विद्यार्थी जनमत) अजय हरिजन ( समाजवादी विद्यार्थी युनियन ) र दुर्गेश गुप्ता( अनेरास्वबियु) को उम्मेदवारी परेको क्याम्पस प्रमुख दीपक अर्यालले जानकारी दिनुभयो ।
यस्तै बर्दघाट नगरपालिका स्थित दिव्य ज्योति बहुमुखी क्याम्पसमा पनि चारजनाको उम्मेदवारी परेको छ। सभापतिमा सन्दिप देवकोटा (अनेरास्वबियु), शशी बिक (नेविसंघ) शिशिर पाण्डे (अखिल क्रान्तिकारी) र विश्वनाथ भण्डारी( स्वतन्त्र) ले उम्मेदवारी दिनुभएको निर्वाचन प्रमुख दीपक खड्काले जानकारी दिनुभयो ।
यस्तै प्रतापपुर गाउँपालिका स्थित त्रिभुवन क्याम्पस भेलाटारीमा पनि चारजनाको सभापतिमा उम्मेदवारी परेको छ। सभापतिमा आशिष कुमार गुप्ता तेली (अनेरास्ववियु), आदित्य गडेरीपाल (नेविसंघ), राजा गोसाई (संयुक्त प्यानल), राम कृपाल गुप्ता (विद्यार्थी जनमत ) ले उम्मेदवारी दर्ता गराउनुभएको निर्वाचन संयोजक रामप्रसाद भट्टराईले जानकारी दिनुभयो ।
जिल्लाको पहिलो पाल्ही बहुमुखी क्याम्पसमा बुधबार पनि भर्ना जारी रहेकोले संख्या एकिन भएको छैन। तर दिव्य ज्योति बहुमुखी क्याम्पसमा १ हजार ३८७ विद्यार्थी मतदाता छन भने बेलाटारी क्याम्पस बेलाटारीमा ४ सय ८ जना विद्यार्थी मतदाता रहेको निर्वाचन समितिले जनाएको छ।
आगामी चैत्र ५ गते चुनाव हुँदैछ यसअघि २०७९ चैत्र ५ गते भएको स्वतन्त्र विद्यार्थी युनियनमा त्रिभुवन क्याम्पस र दिव्य ज्योति बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल विजय भएको थियो भने पाल्ही बहुमुखी क्याम्पसमा जनमत विद्यार्थीको प्यानल विजयी भएको थियो ।
