परासी । नवलपरासीको प्रतापपुर गाउँपालिकाले सोमबार कपिलवस्तुमा रहेको हुलाकी राजमार्ग डिभिजन कार्यालय कपिलवस्तुमा घेराउ तथा धर्ना दिएको छ।
गाउँपालिकामा पर्ने ६.५ किलोमिटर हुलाकी राजमार्ग निर्माणका लागि सम्झौता भएको ६ वर्षसम्म नबनेपछि डिभिजन कार्यालयमा घेराउ गरिएको हो।

सोमबार प्रतापुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवको नेतृत्वमा कार्यालय घेराउ तथा धर्ना दिन सयौंको संख्यामा पुगेको टोलिलाई सम्बोधन गर्दै कार्यालयका निमित्त योजना प्रमुख इन्जिनियर पवित्रमणी अर्यालले आउँदो सात दिन भित्र निर्माण कम्पनीले पूर्णरुपमा कार्यशुभारम्भ गर्ने कार्यतालिका तय गरेको बताउनु भएको छ ।
नारायणचोकदेखि बेलाटारीसम्म निर्धारित समयमै हुलाकी राजमार्ग नबनेको भन्दै यसअघि विभिन्न चरणका आन्दोलन गरिरहेको प्रतापपुर गाउँपालिकाले आज हुलाकी राजमार्ग योजना कार्यालय कपिलबस्तु नै पुगेर घेराउ तथा धर्ना दिएको हो ।
अध्यक्ष यादवले हुलाकी राजमार्ग निर्माण नहुँदा सो सडक भएर यात्रा गर्ने यात्रुहरूलाई शास्ती हुने गरेको भन्दै यसअघि राजधानी केन्द्रित आन्दोलन गर्ने चेतावनी समेत दिनुभएको थियो। अध्यक्ष यादवले प्रतापपुर गाउँपालिकामा पर्ने ६.५ किलोमिटर सडक निर्माण गर्न ६ वर्ष लाग्नु दुखद भएको भन्दै यसअघि आवरण अनसन नै बसेर विरोध जनाउनुभएको थियो । उहाँले डिभिजन कार्यालयले दिएको समय सीमाभित्र निर्माण कम्पनीले काम नगरे काठमाडौँ केन्द्रीत विरोध कार्यक्रम गर्ने बताउनुभएको छ
पटक पटक गरिएका प्रयास र विरोध जन्य कार्यक्रमबाट पनि निर्माण कम्पनीले काम शुभारम्भ नगरेपछि गाउँपालिकाले घेराउ तथा धर्ना दिने कार्यक्रम तय गरेको हो । आउँदो सात दिन भित्र पूर्णरुपमा कार्य सम्पन्न नगरे खरिद संझौता र प्रचलित ऐन कानून बमोजिम ठेक्का अन्त्य गरिने निमित्त योजना प्रमुख आचार्यले प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।
ठेकेदार कम्पनी बज्रगुरु/महालक्ष्मी जे.भी. कुपण्डोल ललितपुरले आउँदो असार मसान्तसम्म कालोपत्रे सम्मको कार्य सम्पन्न गर्ने कार्यतालिका बनाएको बताइएको छ ।

