परासी । " सबै महिला तथा बालबालिकाका लागि अधिकार, समानता र सशक्तिकरण" भन्ने नाराका साथ ११५ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस नवलपरासी सहित देशभर भव्य रुपमा मनाइएको छ ।
दिवसको अवसर पारेर जिल्लाका सातवटै पालिकामा विभिन्न कार्यक्रमहरू सञ्चालन भएका छन् । शनिबार बर्दघाट नगरपालिकामा सञ्चारिका समूह नवलपरासीले महिला सशक्तिकरण र समानताको खोजी विषयक अन्तरक्रिया कार्यक्रम गरी दिवस मनाएको हो।
सञ्चारिका समूह नवलपरासीकी अध्यक्ष विष्णु खनालको अध्यक्षता र बर्दघाट नगरपालिका वडा नं ५ की वडा अध्यक्ष बिमला गुरुङको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको हो।
सो अवसरमा वडाध्यक्ष गुरुङले महिलाहरूको मागमा आधारित योजनाहरू सञ्चालन गर्दै जीविकोपार्जनमा सुधार ल्याउनुपर्ने बताउनुभयो।
कार्यक्रममा सञ्चारिका समूह लुम्बिनी प्रदेशकी प्रबन्ध निर्देशक उषा किरण पन्तले सहजीकरण गर्नुभएको थियो। उहाँले महिला सशक्तिकरण, समानताको खोजी, प्रदेशमा महिलाको नेतृत्व र अवस्था लगायतका विषयमा प्रकाश पार्नुभएको थियो ।
अन्तरक्रिया कार्यक्रममा नवलपरासीका विभिन्न संघ संगठनमा आबद्ध अगुवा महिलाहरूको सहभागिता रहेको आयोजक सञ्चारिका समूहले जनाएको छ।
कार्यक्रममा वर्दघाट नगरपालिका वडा नम्बर २ की निवर्तमान वडा अध्यक्ष दया दर्लामी, महिला बालबालिका शाखा प्रमुख अप्सरा सुवेदी, सामुदायिक वन उपभोक्ता महासङ्घ नवलपरासीकी अध्यक्ष शारदा पोखरेल, द ल्याप्रोसी मिसन नेपालकी निशा शर्मा लगायतले नारी दिवसको अवसरमा शुभकामना व्यक्त गर्नुभएको संचारीका समूहकी जिल्ला सचिव डोलकुमारी चौधरीले बताउनुभयो।
