
म भावना गोल्डी, मेरो जन्म २०४६ साल फाल्गुन १२ गते नवलपरासी जिल्लाको वर्दघाट १३, दविल्लामा भएको हो । मलाई घरमा सबैले बुद्ध भन्नु हुन्छ, मलाई यो नाम निकै राम्रो र प्यारो लाग्छ ।
आमाबुबा, ६ जना दिदीवहिनी र एक जना भाईको परिवारमा हुर्किएकी म साईली छोरी हुँ । बुवा मन गोल्डी र आमा आरती खातीको कोखमा जन्म लिन पाएकोमा आफूलाई निक्कै भाग्यमानी ठान्दुछु । बुवा चित्रकार भएका कारण म रङ्ग, ब्रस, चित्रकला र पेन्टिङ्गसँगै हुर्किएँ । घरमा बुबाको सुन्दर चित्रकला र पेन्टिङ्गहरु देखेर होला मलाई सानैदेखि बुवा जस्तै चित्रकार बन्ने रहर हुन्थ्यो । मैले सानैदेखि जानि नजाति बुवाको पेन्टिङ्गकलाको सिको गर्न थालें । सानैदेखि घरमा र विद्यालयमा खालि समय पाउने वित्तिकै चित्र कोर्न थाल्थें । यसरी नै मेरो बाल्यकाल बित्दै गयो ।
२०६२ सालमा मैले युनिभर्सल क्याम्बृज इङ्गिलिस बोडिङ्ग स्कूलबाट एसएलसी उत्तिर्ण गरें । मेरो बाल्यकाल बुवाको कलाकारीतासँग बितेकोले र पेन्टिङ्ग प्रति लगाव र रुचिका कारण उच्च शिक्षा सोहि विषयमा गर्ने सल्लाह सल्लाह बमोजिम म काठमाण्डौ जाने निधो भयो । त्यस कुराले मलाई अत्यधिक खुसी तुल्यायो, फलस्वरुप २०६४ साल भदौमा म पहिलो पटक काठमाण्डौं पुँगे ।
अन्जान ठाउँ, अन्जान मानिसहरुको भिडमा म आफ्नो कलाकार बन्ने सपना साकार गर्नका लागि निरन्तर लागिरहें । बुवाको एक जना कला क्षेत्रकै साथी मेरो अंकल(नरवहादुर वि.क) संगै बसेर आफ्नो कलालाई अझै परिस्कृत गर्दै जाने अवसर प्राप्त गरें । म २०६४ मै ललितकला क्याम्पसमा IFA (intermediate in fine arts) प्रथम बर्षमा भर्ना भएँ । आर्थिक हिसावले काठमाण्डौंको बसाई त्यती सहज नभएकोले मैले आर्थिक भार कम गर्न एक विद्यालयमा चित्रकलाको शिक्षिकाको रुपमा काम गर्न थालें र सँगसँगै आफ्नो अध्ययनलाई पनि अगाडि बढाँए ।
घरमा धेरै छोराछोरी भएका कारणले घरको जिम्मेवारी पनि मेरो काँधमा थियो । आमाबुवाको सपना, घरको जिम्मेवारी र सवै छोराछोरीको अध्ययन पूरा गर्नु पर्ने परिस्थितिका बीच मैले कहिले पनि हरेश खाइन । घरको सवै जिम्मेवारीलाई मन भित्रै राखि आफ्नो र बुवाको सपना पूरा गर्न तर्फ लागि नै रहें ।
मलाई अझै पनि सम्झना छ, मसँग पैसा नभएकै कारण हिंडेरै कलेज जाने गर्थें । खाजा खाने पैसा पनि हुदैनथ्यो, त्यसमाथी काठमाण्डौको महगी । एक दिनको कुरा हो, बुवाले मलाई एउटा पत्रिका किन है छोरी भन्नु भयो, पत्रिकाको मूल्या १५ रुपैया पर्ने रहेछ तर मसँग त्यो बेला १५ रुपैयाँ पनि नभएर पत्रिका किन्न सकिन र बुवालाई पैसा छैन भन्न पनि सकिन । त्यसमाथि साथीहरुले डे्स, जुत्ता पुरानो भयो भनेर जिस्काउँदथे, के गर्नु मैले हाँसेरै टारिदिन्थें ।
ललितकला कलेजमै मैले BFA (Bachelor in Fine Arts) समेत अध्ययन पुरा गरें । विएफए अध्ययन पुरा गर्न मैले काठमाण्डौ मै दुईवटा विद्यालयमा चित्रकला अध्यापन गराउँदथे भने केही समय होम ट्यूसन समेत पठाएँ, सिक्दै गर्दा आफैले बनाएका पेन्टिङ्ग बेच्न पनि थालें, आफैले बनाएका पेन्टिङ्ग बिक्रिहुँदा म निकै उत्साहीत हुन्थें । पछि अंकल नरबहादुर सँगै मै पनि exhibition, competition चित्रकला कार्यशालामा समेत भाग लिने अवसर पाएँ । मैले बनाएका चित्रहरु Art Gallery हरुमा पनि बिक्री हुन थाले, जसले म उत्साहित भएँ र केही आर्थिक श्रोत पनि जुटाउँदै म बजबुद बन्दै गएँ ।

मैले ललितकला कलेजबाट आइएफए र बिएफए अध्ययन पुरा गरिसकेपछि २०७१ सालमा देशकै मजबुत, प्रतिष्ठित विद्यालय रातो बंगलामा चित्रकला अध्यापन गर्ने सौभाग्य प्राप्त गरें । मलाई त्यहाँ करीब १० बर्ष काम गर्ने अवसर प्राप्त भयो । त्यस अवसरमा मैले कितावहरुका लागि चित्र कोर्ने तथा सिक्ने सिकाउने अवसरको सदुपयोग गरें । रातो बंगला मेरालागि एक कोशेदुँगा सावित भयो, म विद्यालय प्रति आभारी छु ।
अध्ययनकै शिलशिलामा २०७४ सालमा त्रिभुवन विश्वविद्यालयमा एमएफए प्रथम बर्षमा भर्ना भए । यसरी मैले उच्च शिक्षाको अध्ययनसँगै अध्यापनलाई पनि निरन्तरता दिँदै आएँ र २०७७ सालमा एमएफए अध्ययन पूरा गरें । बुवाले देखेको २०६४ सालको सपना करिव १३ बर्षको लामो लगन, मेहनत र संर्घषका साथ पुरा गरेकी हुँ ।
समयसँगै २०७८ सालमा पाल्पा तानसेन ११ निवासी सविन गहतराजसँग मेरो बैवाहिक जीवन शुरुवात भयो । २०८० पछि मैले काठामाण्डौको बसाई छाडेर श्रीमानसँग हाल बर्दघाट ४ मै बस्दै आएकी छु । कुमुदिनी बोडिङ्ग स्कुलमा चित्रकला शिक्षिकाको रुपमा अध्यापन गर्दै आएकी छु । मैले विशेष गरी महिलाहरुले भोग्नु परेका घरेलु हिंसा, यौन उत्पिडन र समाजको वास्तविकतालाई चित्रमा उतार्ने गरेकी छु । मलाई त्यस्ता चित्रकला र पेन्टिङ्ग बनाउन मन पर्छ ।
समाजको वास्तविकतालाई चित्रको माध्यमबाट प्रस्तुत गर्ने, सचेतना जगाउने, कला संस्कृतिको जगर्ने गर्ने र त्यसलाई व्यवसायीकता दिन सकेमात्र यस क्षेत्रको विकास हुन्छ भन्ने लाग्छ ।

११५ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आमा, दिदीबहिनीहरुमा असिम शुभकामना ।