परासी । सरावल गाउँपालिका भित्रका विद्यालय, संघसंस्था, स्वास्थ्य केन्द्र लगायतमा कार्यरत सूचना अधिकारीहरुकालागि अभिमुखिकरण कार्यक्रम गरिएको छ । सूचना प्रवाहलाई पारदर्शी बनाउन, सार्वजनिक संस्थाहरुको उत्तरदायित्व बढाउन, अनियमितता नियन्त्रण गर्न र सूचनाको हक कार्यान्वयनलाई प्रभावकारी बनाउन अभिमुखिकरण गरिएको हो ।

सरावल गाउँपालिकाले गत बर्षदेखि नै सबै सरकारी, गैरसरकारी निकायहरुमा सूचना अधिकारी राखेर सूचना प्रवाह गर्दै आएको छ । सरावल गाउँपालिकाकी उपाध्यक्ष बासमती हरिजनको अध्यक्षतामा भएको कार्यक्रममा ४५ जना सूचना अधिकारीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा सूचनाको हक सम्बन्धी ऐन, २०६३ ले गरेका कानूनी व्यवस्था र सूचना अधिकारीको दायित्वको विषयमा नवलपरासी जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरे र रामग्राम नगरपालिकाका योजना अधिकृत रामलाल भुषालले सहजिकरण गर्नु भएको थियो ।

कार्यक्रममा सार्वजनिक निकायले स्वतस्फूर्त सूचना तथा जानकारी दिनु पर्ने, प्रत्येक तीनतीन महिनामा सूचना सम्प्रेषण र आमसंञ्चार माध्यमको प्रयोग गरी सार्वजनिक निकायले निर्वाह गर्नु पर्ने दायित्वको विषयमा अन्तरक्रिया गरिएको छ ।
सो अवसरमा प्रमुख प्रशासकीय अधिकृत विशाल मिश्रा, वडा नं. ३ की सचिव शान्ती चौधरी, बसन्त माध्यमिक विद्यालयका सूचना अधिकारी गोविन्द गौतम लगायतले बोल्नु भएको सरावल गाउँपालिकाका योजना प्रमुख एवं सूचना अधिकारी इश्वरी खनालले जानकारी दिनु भयो ।
