परासी । नवलपरासीमा घरेलु, लैगिङ्क तथा छिमेकी हिंसाका घटना बढ्दै गएका छन् । आर्थिक वर्ष २०८१।०८२ को सात महिनाको अवधिमा १ सय ९४ वटा घरेलु हिंसा सम्बन्धी घटनाको उजुरी परेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । नवलपरासीमा गत आर्थिक बर्ष २०७९।०८० भन्दा २०८०।०८१ मा हिंसाका घटना वढी छन् । ०७९।०८० मा २ सय ८२ र ०८०।८१ मा ३२४ वटा हिंसाका घटनामा भएका हुन् । यसरी हेर्दा गत बर्ष त्यस अघिको बर्षभन्दा ४२ वटा घटना बृद्धि भएको प्रहरीको तथ्याङ्क छ ।
चालु आर्थिक वर्षमा परेको उजुरीको दर हेर्दा विगतको तुलनामा बढ्दो नै देखिन्छ । चालु आर्थिक वर्ष ०८१।०८२ मा नवलपरासीका सातै पालिका मध्ये रामग्राम नगरपालिकाका सबैभन्दा वढी हिंसाका घटना दर्ता भएका छन् । रामग्रामबाट मात्र ८८ वटा घरेलु हिंसाका उजुरी परेको प्रहरीले जनाएको छ । यस्तै सुनवल नगरपालिकाबाट १९, वर्दघाट नगरपालिकाबाट ६, सुस्ता गाउँपालिकाबाट ८, पाल्हिनन्दन गाउँपालिकाबाट ३६, प्रतापपुर गाउँपालिकाबाट ९, सरावल गाउँपालिकाबाट १९ र जिल्ला बाहिरबाट ९ वटा घरेलु हिंसाका उजुरी परेको प्रहरी कार्यालयको बालबालिका तथा महिला शाखाकी प्रहरी सहायक निरिक्षक यसोदा वि.क.ले बताउनु भयो । कुल १९४ वटा घरेलु हिंसाका घटना मध्ये १ सय ५६ वटा उजुरीको मिलापत्र भएको छ भने अझै २६ वटा उजुरी मिलापत्र गर्न बाकि रहेको प्रहरीले जनाएको छ ।
आर्थिक वर्ष २०८१।०८२ को पहिलो साउन महिनामा ४० वटा, भदौमा ४२, असोजमा २६, कात्तिकमा १९, मंसिर र पुषमा २२/२२, र माघ महिनामा २३ वटा घरेलु हिंसाको उजुरी परेको प्रहरीको तथ्याङ्क छ ।
यस्तै लैगिक तथा छिमेकि हिंसाका घटना पनि बढेको छ । गएको तीन वर्षको तथ्याङकलाइ हेर्दा ५ सय ५२ वटा उजुरी परेका थियो । आर्थिक वर्ष २०७८।०७९ मा १ सय ८, ०७९।८० मा २ सय ३४ र ०८०।८१ मा २ सय १० वटा उजुरी परेको थियो । चालु आर्थिक वर्षको ७ महिनामा भने १२४ वटा उजुरी परेको छ जसमा ८९ वटा उजुरी मिला पत्र गरिएको छ भने २२ वटा अझै मिला पत्र गर्न बाकिरहेको प्रहरी कार्यालयले जनाएको छ ।
लैगिक तथा छिमेकि हिंसाका घटनाका उजुरी पनि प्रहरी कार्यालयमा जिल्लाका अन्य पालिकाभन्दा धेरै रामग्रामबाट परेको प्रहरीले जनाएको छ । अहिले मानिसमा व्यापक सचेतना र जागरण आएका छ, त्यसैले न्याय प्राप्तीका लागि हिंसाका घटना बाहिर आउन थालेका छन्, रामग्राम नगरपालिकाकी उपप्रमुख संझना चौधरी बताउनु हुन्छ ।
हिसां बढनुको मुख्य कारण अझै पनि समाज पूर्ण रुपमा शिक्षित नहुनु, आर्थिक समस्या, अरुको देखासिकि गर्नु, बेरोजगारी, कुलतमा फस्नु लगाएतका छन् । समाजमा सचेतनाका अभियानहरु जारी रहँदा हिंसा सम्बन्धी घटनाका उजुरी पनि वढेर गएको सरोकारवालाहरुले बताएका छन् ।
स्वभाविक रुपमा हेर्दा हिंसा बढ्नु राम्रो होइन तर सचेतनाका कारणले प्रहरीमा उजुरी पर्नु राम्रो भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी निरीक्षक नारायण थापा बताउनु हुन्छ । हिसाका घटना न्युनिकरणकालागि प्रहरीले समुदाय प्रहरी साझेदारी कार्यक्रम निरन्तर सञ्चालन गर्दै आएको छ ।
