परासी । नवलपरासीको सदरमुकाम परासीमा सोमबार सडक खाना एवं सांस्कृतिक महोत्सव सुरु भएको छ । पहिलोपटक रामग्राममा सडक खाना महोत्सव आयोजना भएकोमा रामग्राम बासी उत्साहित भएका छन्। सडकमै खाने सडकमै रमाउने मौका मिलेकोमा रामग्राम बासीमा खुसियाली छाएको हो।
विभिन्न जातजातिका खानाका परिकार राखेर खाना महोत्सव गरिएको आयोजक संस्था आदिवासी जनजाति महासंघ रामग्राम नगर समन्वय परिषद्ले जनाएको छ।
परासीको घण्टाघर चोकदेखि बाइपास सडकसम्म सडक खाना एवं सांस्कृतिक महोत्सव गर्न लागिएको हो। महोत्सव फाल्गुन १२ र १३ गते दुई दिनका लागि राखिएको छ। स्थानीय कला संस्कृतिको जगेर्ना गर्दै विभिन्न जातजातिका पहिचान सहितका खाना महोत्सवमा राखिएको छ।
सडक खाना महोत्सवमा मगर, थारु, गुरुङ, यादव, क्षेत्री समाज लगायतका तीन दर्जन बढी खानाका स्टलहरू राखी दिएको छ।
महोत्सवमा विभिन्न जातजातिका सांस्कृतिक पहिरन, झाँकी प्रदर्शन गरिएको छ भने विभिन्न जातजातिको पहिचान सहितको नृत्य तथा भाषाभाषीका गीत प्रस्तुत गरिएको छ । सांस्कृतिक महोत्सवमा स्थानीय एवं राष्ट्रिय कलाकारहरूको पनि प्रस्तुतिकरण रहने महोत्सवका सहयोगी अभिनाश रेग्मीले जानकारी दिनुभयो।
रामग्राम नगरपालिकाको आर्थिक सहयोग रहेको सडकखाना महोत्सवले रामग्रामको पहिचान स्थापित गर्ने साथै विभिन्न उद्यम व्यवसायलाई प्रवर्द्धन र प्रोत्साहन गर्न महोत्सव आयोजना गरिएको जनजाति महासङ्घ रामग्रामका अध्यक्ष भवानी शंकर चौधरीले बताउनुभयो ।