परासी । नवलपरासीको विनयत्रिवेणी गाउँपालिका वडा नम्बर ६ मा पर्ने मदारबाबा मजार धार्मिक स्थल, हिन्दु—मुस्लिम समुदायको धार्मिक र सांस्कृतिक आस्थाको केन्द्रको रुपमा रहँदै आएको छ । नेपाल र भारत दुवै देशका श्रद्धालु भक्तजनहरू मदार बाबामा पूजा अर्चना गर्न जाने प्रचलन छ । मदारबाबाको पूजा गर्नाले मनोकामना पूरा हुने, स्वास्थ्य, समृद्धि र सफलता प्राप्त हुने जनविश्वास रहेको छ ।
मदारबाबामा यही फागुन ५ गतेदेखि १४ गतेसम्म मेला लाग्दैछ । मेला शिवरात्री सुरु हुन १० दिनअघि प्रारम्भ भई शिवरात्रीको दिन सम्पन्न हुन्छ । मदरबाबा धार्मिक मेलालाई सभ्य, भव्य, अनुशासित, मर्यादित र सामाजिक सद्भावसहित शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सबै सरोकारवाला पक्षलाई पूर्वि नवलपरासी र पश्चिम नवलपरासीका जिल्ला प्रशासन कार्यालयले आग्रह गरेका छन् । मदारबाबा थानसम्म पुग्न सुस्ता गाउँपालिकाको महलबारीदेखि करिव ९ किलोमिटर पहाडि बाटो तय गर्नु पर्छ । थानसम्म पुग्न करिव ६ घण्टा पैदल यात्रा गर्नु पर्छ भने पैदल यात्राको अन्य कुनै विकल्प छैन ।
यस्तै मेला अवधिभर उक्त क्षेत्रमा मदिरा तथा मदिराजन्य पदार्थ उत्पादन ओसारपसार बिक्री वितरण र सेवन जस्ता कार्य नगर्न दुवै प्रशासन कार्यालयले आग्रह गरेका छन् । प्रशासन कार्यालयहरुले एक सूचना नै जारी गरी नियम विपरीत कार्य गरे गराएको पाइएमा कानून बमोजिम कारवाही गरिने पूर्वी नवलपरासीका सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माले बताउनु भएको छ ।
मदारबाबा दर्शनका लागि भारतको उत्तर प्रदेश र विहारबाट लाखौं श्रद्धालुहरु आउने गर्दछन् भने नवलपरासी, रुपन्देही, कपिलबस्तु, नवलपुर र लुम्बिनी प्रदेशका अन्य जिल्लाहरुबाट श्रद्धालु आउने गरेको दरगाहा मेला व्यवस्थापन समितिका संयोजक निजामुदिन मियाले बताउनु भयो । यस बर्ष पनि करिव १५ लाख श्रद्धालुहरुले मदारबाबा दर्शन र मेलामा सहभागी हुने बताइएको छ । १० दिनसम्म लाग्ने मेलाको तयारी पूरा भएको बताइएको समितिले जनाएको छ ।