परासी । विश्व रेडियो दिवसको अवसरमा सामुदायिक रेडियो परासीले परासी बुद्धचोकमा बिहिवार सडक दुर्घटना न्यूनिकरणका लागि ट्राफिक सचेतना कार्यक्रम सम्पन्न गरेको छ । रेडियोले स्वास्थ्य कार्यालय नवलपरासी, जिल्ला ट्राफिक कार्यालय नवलपरासी र अन्य संघसंस्थाहरुको सहकार्यमा सचेतना कार्यक्रम गरेको हो । दुई पाँग्रे, चारपाँग्रे र इरिक्साका चालक तथा सहचालकहरुलाई लक्षित गरी कार्यक्रम गरिएको थियो ।
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख भेषराज शर्माको अध्यक्षता र रामग्राम नगरपालिकाका नगरप्रमुख धनपत यादवको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको छ । नगरप्रमुख यादवले ट्राफिक सचेतनामूलक स्टिकर मोटरसाईकलमा टाँसेर कार्यक्रमको शुभारम्भ गर्नु भएको हो । सो अवसरमा नगरप्रमुख यादवले विश्व रेडियो दिवसको शुभकामना व्यक्त गर्दै नगरभित्र ट्राफिक व्यवस्थापन गर्न सवै पक्षसँग सहकार्य गरिएको बताउनु भयो । उहाँले रेडियो परासीले गाउँ घरमा बसेका नागरिकको आवाजलाई सम्बन्धित निकायसम्म पुर्याउने काम गरेको भन्दै समाजमा रेडियोले सकारात्मक भूमिका खेलेको बताउनु भयो ।
कार्यक्रममा सामुदायिक रेडियो परासीका अध्यक्ष राजकुमार रेश्मीले रेडियोले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै सचेतना जागृत गरेको बताउनु भयो । उहाँले २०६५ सालमा स्थापना भएको रेडियो परासीले समाजलाई निरन्तर सूचना, शिक्षा र मनोरञ्जन प्रदान गर्दै आएको बताउनु भयो ।
कार्यक्रममा नवलपरासी जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्याल, नेपाल पत्रकार महासंघका अध्यक्ष केशव पराजुली, जिल्ला ट्राफिक कार्यालयका बिक्रमप्रसाद भुषाल, रोटरी क्लव अफ नवलपरासीका अध्यक्ष सुनिल कसौधन, पाल्ही मध्य नेपाल यातायात प्रा.लिका सचिव सन्जु थापा, रामग्राम जेसीजका अध्यक्ष विष्णुराज राव, संचारकर्मि मोहन पौडेल, बेनिमाधव वस्याल लगायतले बोन्नु भएको सामुदायिक रेडियो परासीका स्टेशन म्यानेजर विकास अधिकारीले जानकारी दिनु भयो ।
सो अवसरमा बोल्ने वक्ताहरुले सवारी साधन, सडक र सवारी चालकको सहि प्रयोगले मात्र सडक दुर्घटना न्यूनिकरण गर्न सकिने बताउनु भएका थिए । कार्यक्रममा ट्राफिक सचेतनाका झण्डै २ हजार थान स्टिर वितरण गरिएको छ ।
