परासी । प्रेस चौतारी नेपाल नवलपरासीको सातौं जिल्ला अधिवेशन शनिबार सम्पन्न भएको छ। चौतारीका जिल्ला अध्यक्ष मेघराज गौतमको अध्यक्षता तथा प्रेस चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेतको प्रमुख आतित्यमा सातौँ जिल्ला अधिवेशन सम्पन्न भएको हो।
अधिवेशनले गौरीशंकर जयसवाललाई सर्वसम्मत अध्यक्ष निर्वाचित गरेको छ। यस्तै दुई उपाध्यक्षमा आरती राणा र सुरेश यादव सर्वसम्मत निर्वाचित हुनुभएको हो। यस्तै चौतारीको सचिवमा कल्पना खरेल, दुई सहसचिवमा क्रमश अभिषेक राव हरिजन सुनइना चौधरी, कोषाध्यक्षमा महेश यादव र दुई सदस्यमा टेकबहादुर हरिजन र अमृता बिक सर्वसम्मत निर्वाचित हुनुभएको निर्वाचन समितिका संयोजक एवं प्रेस चौतारी नेपालका केन्द्रीय सचिव प्रदीप आचार्यले जानकारी दिनुभयो ।

यसैबीच सम्पन्न सातौं अधिवेशनले केन्द्रीय परिषद् सदस्यमा निवर्तमान अध्यक्ष मेघराज गौतम र सदस्य विष्णुमाया पाण्डेलाई चयन गरेको छ। यस्तै लुम्बिनी प्रदेश परिषद् सदस्यमा प्रमोद अर्याल चयन हुनुभएको निर्वाचन समितिका सदस्य रामचन्द्र भण्डारीले बताउनुभयो।
त्यसअघि सातौँ जिल्ला अधिवेशनको उद्घाटन गर्दै प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले संगठनमा आबद्ध सदस्यहरू संगठनको नीति, विधि र सिद्धान्त अनुसार चल्नु अपरिहार्य रहेको बताउनुभयो। अध्यक्ष बस्नेतले संगठनभित्र अनुशासन, संगठनात्मक विधि, प्रेस चौतारीको मर्म र सिद्धान्तअनुसार आफ्ना गतिविधि गर्न सदस्यहरूलाई निर्देशन दिनुभएको छ। अध्यक्ष बस्नेतले जनताको बहुदलीय जनवादको सिद्धान्तलाई अंगीकार गर्दै संगठनलाई एक ढिक्का बनाएर अगाडि लैजानको विकल्प नभएको बताउनुभयो ।
सो अवसरमा प्रेस चौतारी नेपालका केन्द्रीय सचिव आचार्य, नेकपा एमाले नवलपरासीका उपाध्यक्ष डोलराज भण्डारी, जिल्ला कार्यालय सचिव एवं प्रेस चौतारी इन्चार्ज रामचन्द्र भण्डारी, प्रेस चौतारीकी केन्द्रीय सदस्य एवं नवलपरासी इन्चार्ज दिपु पोख्रेल, सामुदायिक रेडियो परासी ९०.२ मेगाहर्जका अध्यक्ष राजकुमार रेश्मी लगायतले नवनिर्वाचित समितिलाई शुभकामना व्यक्त गर्नुभएको चौतारीका सदस्य एवं नेपाल पत्रकार महासङ्घ नवलपरासीमा उपाध्यक्ष विकास अधिकारीले बताउनुभयो ।