पाल्हीनन्दन । २०४५ सालमा स्थापना भएको नेपाल नेत्र ज्योति सङ्घ नवलपरासी शाखाको ३४ औँ वार्षिक साधारण सभा आज पाल्हीनन्दनमा सम्पन्न भएको छ। सङ्घले आफ्नो स्थापनाकालदेखि नै डाक्टर बिनोद निता कण्डेल आँखा अस्पताल सञ्चालन गरिरहेको छ। सदरमुकाम परासीको बुद्धचोकमा मुख्य अस्पताल सञ्चालन गरेको सङ्घले जिल्लाका अन्य चार स्थानमा पनि सेवा सञ्चालन गरिरहेको छ।
आइतबार एक कार्यक्रमका बीच संघले आफ्नो ३४ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको हो। सङ्घका अध्यक्ष देवेन्द्रराज कण्डेलको अध्यक्षता र लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुको प्रमुख आतिथ्यमा साधारण सभा सम्पन्न गरिएको हो ।
साधारण सभामा डाक्टर विनोदनिता कण्डेल आँखा अस्पतालले प्रदान गरेका सेवाहरूको बारेमा जानकारी गराइएको छ। अस्पतालले दैनिक औसतमा २५० जना बिरामीलाई प्रत्यक्ष सेवा प्रदान गर्दै आएको बताइएको हो । कार्यक्रममा सङ्घका सचिव डा संजयकुमार कर्णले गएको नौ महिनामा ३० हजार १७२ जना बिरामी चेकजाँच गरी २ हजार ५०७ जना बिरामीको आँखाको शल्यक्रिया गरिएको बताउनुभयो ।
सो क्रममा सचिव कर्णले विभिन्न शीर्षकमा ४ करोड १४ लाख १३ हजार ८३० रुपैयाँ आम्दानी गरी ४ करोड ८ लाख ६७ हजार ८१९ खर्च गरेको जानकारी दिनुभयो।
साधारण सभामा लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री देवकरण कलवार, जिल्ला समन्वय समिति नवलपरासीका प्रमुख भगौती यादव, सुनवल नगरपालिकाकी नगरप्रमुख बिमला अर्याल, कृष्ण नेत्रालय भैरहवाकी प्राध्यापक डा सल्मा केसी, पृथ्वी चन्द्र अस्पताल परासीका मेडिकल सुपरिटेन्डेन्ट डक्टर मोहम्मद नुरुल होदा, अस्पतालकी अध्यक्ष मञ्जु कण्डेल, नेपाल पत्रकार महासङ्घ नवलपरासीका अध्यक्ष केशव पराजुली, उद्योग वाणिज्य सङ्घ नवलप्रासीका अध्यक्ष ओम प्रकाश अग्रहरी, सङ्घ सल्लाहकार कृष्णप्रसाद लामिछाने, अस्पतालका व्यवस्थापक अजय पाण्डे लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको सङ्घका सहसचिव अनिल उपाध्यायले नेपाली चेलीलाई जानकारी दिनुभयो ।