परासी । नवलपरासीको सदरमुकाम परासीमा आज ९ सय ११ जनाको स्वास्थ्य परीक्षण भएको छ। रोटरी क्लब अफ नवलपरासीको आयोजनामा भएको बृहत निःशुल्क स्वास्थ्य शिविर कार्यक्रममा रामग्राम नगरपालिका र आसपासका नागरिकहरूको स्वास्थ्य परीक्षण गरिएको हो।
गौतम बुद्ध सामुदायिक मुटु अस्पताल बुटवलको प्राविधिक सहयोग र रामग्राम नगरपालिका तथा विभिन्न संघ संस्था, व्यक्ति र निकायहरूको सहकार्यमा शिविर सञ्चालन गरिएको क्लबका अध्यक्ष सुनिल कसोधनले बताउनुभयो ।
निःशुल्क स्वास्थ्य परीक्षणको शुभारम्भ गर्दै लुम्बिनी प्रदेश सभाका सदस्य बैजनाथ जयसवालले रोटरी क्लब अफ नवलपरासीले समाजमा गरेको मानवीय सेवाको कार्य प्रशंसनीय रहेको बताउनुभयो ।
शनिबार सम्पन्न स्वास्थ्य शिविरमा मुटु, मृगौला, दम तथा छाती र अन्य रोगका बिरामीहरुको स्वास्थ्य परीक्षण भएको छ । स्वास्थ्य शिविरमा वरिष्ठ मुटुरोग विशेषज्ञ, मृगौला रोग विशेषज्ञ र जनरल फिजिसियनबाट निःशुल्क इसिजी र इकोबाट मुटु रोगको परीक्षण, पिएफटीबाट दम तथा छाती रोगको परीक्षण, रक्त परीक्षण तथा आवश्यक औषधिहरू निःशुल्क वितरण गरिएको छ ।
सो अवसरमा बोल्दै मुटु अस्पतालका प्रमुख डाक्टर समिर गौतमले स्वस्थ रहन खानपान र आनीबानीमा परिवर्तन गर्नुपर्ने बताउनुभएको छ।
शिविरमा रोटरी क्लबका संस्थापक अध्यक्ष सुमन गोपाल आचार्य, रामग्राम नगरपालिकाकी नगर उपप्रमुख सम्झना चौधरी, प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ, गौतम बुद्ध सामुदायिक मुटु अस्पतालका अध्यक्ष एजआज आलम, रोटरीकी उर्मीला अग्रहरी, कार्यक्रम संयोजक सन्तोष कुमार गुप्ता लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको रोटरी क्लवका सर्जेन्ट एट आर्म राजकुमार रेशमीले जानकारी दिनु भयो ।