परासी । महाकवि देवकोटा क्याम्पस सुनवलले मंगलबार नवलपरासी सहित ३ जिल्लाका १३ वटा क्याम्पसहरुमा अध्ययनरत विद्याथीहरुका बीच “बिजनेश प्लान कम्पिटिसन” सिजन १ सञ्चालन गरेको छ ।
प्रतियोगितामा नवलपरासी, रुपन्देही र कपिलवस्तुका विभिन्न क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको सहभागिता रहेको थियो । सहभागी विद्यार्थीहरुले नयाँ तथा सृजनशील व्यवसायीक योजना प्रस्तुतिकरण गरेका थिए ।
प्रतियोगितामा लुम्बिनी वाणिज्य क्याम्पस, बुटवल प्रथम भएको छ । “काम दाम” शीर्षकमा गरिएको प्रस्तुतीकरले ८२.५ अंक प्राप्त गरी प्रथम भएको हो । यस्तै बुटवल बहुमुखी क्याम्पस द्वितीय भएको छ । धानको परालबाट भान्साका भाँडा निर्माण गर्ने परियोजनाको प्रस्तुतीकरणले ८० अंक प्राप्त गरी द्वितीय भएको हो । यस्तै स्काई इन्टरनेशनल कलेज बुटवल तृतीय भएको छ । भुषबाट कप बनाउने परियोजनाको प्रस्तुतीकरणले ७९ अंक प्राप्त गरी तृतीय भएको हो ।
प्रथम, द्वितीय र तृतीय हुने क्याम्पसलाई क्रमशः २५ हजार, १५ हजार र १० हजार नगद, प्रमाण पत्र र शिल्डहरु प्रदान गरिएको क्याम्पसका प्राध्यापक हरिदत्त शर्माले जानकारी दिनु भयो ।
प्रतियोगिताको निर्णायकको भूमिका राष्ट्रिय वाणिज्य बैंक परासी शाखाका प्रवन्धक हेम खनाल र युवा महिला उद्यमी प्रविना घिमिरेले गर्नु भएको थियो ।
त्यसअघि क्याम्पसका अध्यक्ष कृष्णप्रसाद लामिछानेको अध्यक्षता र सुनवल नगरपालिकाकी नगरप्रमुख बिमला अर्यालको प्रमुख आतिथ्यमा कार्यक्रम सञ्चालन गरिएको हो । सो अवसरमा नगरप्रमुख अर्यालले युवा विद्यार्थीहरुले अध्ययनकै शिलशिलामा गरेको खोज तथा अनुसन्धानबाट नयाँ तथा सृजनशील व्यवसायीक योजना तयार पारी नौलो प्रयोग गरेकोमा सवैलाई सफलताको शुभकामना व्यक्त गर्नु भएको छ ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य केशव भण्डारी, उद्योग वाणिज्य संघ नवलपरासीका अध्यक्ष ओमप्रकाश अग्रहरी लगायतले विद्यार्थीहरुको नयाँ सोंच र खोजलाई सफलता मिल्ने विश्वास व्यक्त गर्नु भएको छ ।