परासी । सवारी साधन वर्ग B (Car, Jeep, Delivery Van), वर्ग C (Tempo, Auto Rickshaw), वर्ग C1 (E-Rickshaw) र वर्ग E (Tractor) को सवारी चालक अनुमति पत्र यातायात व्यवस्था सेवा कार्यालय नवलपरासीद्वारा शुक्रबार शुभारम्भ गरिएको छ ।
जिल्लाबाट चारपाङ्ग्रे चालक अनुमतिपत्र वितरण सुरु भएपछि सेवाग्राहीलाई अन्यत्र जिल्ला जानुपर्ने बाध्यता हटेको छ।
विभिन्न चार प्रकारका सवारी चालक अनुमतिपत्र ट्रायल सुरु गरिएको यातायात सेवा कार्यालय परासीले जनाएको छ।
लुम्बिनी प्रदेश सरकारका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले शुक्रबार सेवा विस्तार गर्नुभएको कार्यालयका प्रमुख श्यामलाल न्यौपानेले बताउनुभयो । यसअघि दुई पाङ्ग्रे (मोटरसाइकल र स्कुटर)को मात्र लाइसेन्स वितरण हुने गरेको थियो ।
सेवा विस्तार कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका वनमन्त्री देवकरण कलवार, संविधान सभा सदस्य विक्रम खनाल, सांसद बैजनाथ कलवार, जिल्ला समन्वय समिति नवलपरासीका प्रमुख भगौती यादव, रामग्राम नगरपालिकाका नगरप्रमुख धनपत यादव, सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्याल लगायतले चारपाङ्ग्रे सवारीको अनुमतिपत्र वितरण सेवा सुरुवात गरिएकोमा शुभकामना व्यक्त गर्नुभएको छ।
चारपाङ्ग्रे सवारी अनुमतिपत्र वितरण कार्यक्रम लुम्बिनी प्रदेश उद्योग, पर्यटन तथा यातायात मन्त्रालयका निमित्त सचिव रमेश गौतमको अध्यक्षतामा भएको हो।