नलपरासी । शिक्षा छैन, अन्य सीप पनि छैन । जानेको त्यही पुख्र्यौली सीप ढुंगा कुद्ने हो । त्यही पुख्र्यौली पेसा गरेर जीवन धान्न नसकिने अवस्था छ, पत्थरकट्ट समुदायको । आधुनिक प्रविधिको विकास भएसँगै नवलपरासीका लोपोन्मुख पत्थरकट्ट समुदायको ढुंगाका सामग्री बनाउने पेसा संकटमा परेको छ । ढुङ्गाबाट मूर्ति, सिलौटा र लोहोरा बनाएर बेच्दै जीवन यापन गर्दै आएका पत्थरकट्टा समुदायले बनाएको सिलौटा र लोहोरा बजारमा बिक्री नभएपछि यो समुदाय समस्यामा परेको छ । समस्या हटाउन उनीहरु वैकल्पिक पेसाको खोजीमा छन् ।
पत्थरकट्ट अर्थात् कुसवाडिया समुदायलाई आफ्नो पुख्र्यौली पेसाप्रति माया छ, तर पेसा अंगाल्ने अवस्था छैन । त्यसमध्येका हुन्, नवलपरासीको रामग्राम नगरपालिका–१ सहुवा टिकर निवासी ३९ वर्षीय जगदीश पत्थरकट्ट । उनको जवानी खोलाका ढुङ्गा कुदेर र सिलौटा बनाएर बित्यो । उनी हिउँद महिनामा ५० देखि ६० हजार रुपैयाँसम्म कमाउँथे । त्यसैबाट आउने आम्दानीले परिवारको गर्जो चलाउँथे । ‘बुबाआमाले जङ्गल र खोलामा भेटिएका ढुंगा कुदेर बेच्थे । उनीहरुसँगै मैले पनि लोहोरा र सिलौटा बनाएर बेच्दै जवान भएँ । राम्रो कमाइ नभए पनि घरखर्च चलाउन समस्या थिएन,’ जगदीशले सुनाए–‘सानो हुँदा बाबुआमाले जे गरे, जे सिकाए त्यही गरियो । अरुतिर न मन गयो न ध्यान गयो । बाउआमा खोलाको किनारमा ढुङ्गाहरुसँगै रमाए ।’
जगदीश नौ वर्षको उमेरदेखि यतै ढुंगा कुद्न लाग्दा समाजमा घुल्न र पढाइमा जोडिन पनि पाएनन् । जगदीशका पाँच सन्तान पनि सिलौटा र लोहोरा बेच्दै हुर्के । जगदीशको अहिले सात जनाको परिवार छ । अब भने जगदीशको गुजारा सिलौटा कुदेर बित्दैन । अहिले महिना दिनमा १० हजार रुपैयाँ कमाउन पनि एकदमै गाह्रो भएको जगदीशले बताए । ‘अब के गर्ने चिन्तामा छु,’ जगदीशले सुनाए–‘खेतीपाती गर्न जग्गा छैन । जग्गाको नाउँमा सुकुम्बासीमा घर छ । त्यो पनि खोलाको किनारामा वर्षातको समयमा बाढी आउने चिन्ता लागिरहन्छ ।’
जगदीशलाई उनकी श्रीमती आशाले पनि व्यवसायमा सघाउँथिन् । अहिले पनि उनी सिलौटो टाउकामा राखेर बेच्न जान्छिन् । तर धेरैजसो बेच्न लगेको सिलौटो घरै फर्किन्छ । ‘हप्ता दिनमा बल्लतल्ल एउटा सिलौटो बिक्री हुन्छ । त्यसले गुजारा चल्दैन ।’–आशाले भनिन् । श्रीमती आशाले अझैँ पनि सिलौटा बेच्छिन् । जगदीशले घर धान्न नसकेपछि पेसाप्रति माया भए पनि आफ्नो पुख्र्यौली पेसा छोड्न बाध्य भएको बताए । नजिकैको एक कम्पनीमा गत महिनादेखि काम गर्न लागेको जगदीश बताउँछन् ।
जगदीशका छोरा अहिले ठूला भइसकेका छन् । तर उनी बाआमाले जस्तै ढुंगाबाट सामग्री बनाउँदैनन् । नत, तिनलाई बेच्न हिंड्छन् । जगदीशका छोरा विजय पत्थरकट्टा २१ वर्षका भए । उनी कक्षा ११ सम्म पढेका छन् । तर बाआमाको काम गर्दैनन् ।

विजयको बाआमाले सिलौटा बनाउने र बेच्ने काममा गरेको मेहनत र मेहनतअनुसार पैसा नआएको देखेर विजय काममा ध्यान नगएको बताउँछन् । ‘बाआमा दैनिक जंंगलमा जानुहुन्छ । दुखःगरी ढुंगा खोजेर ल्याउनुहुन्छ । ढुंगा पाउन पनि गाह्रो छ । बेच्न जाँदा नबिकेर रीत्तै घर फर्कनुहुन्छ । बिक्री भैहाले पनि मूल्य पाइदैन । घर परिवारका दैनिक आवश्यकता पूरा गर्न पनि धौधौ हुन्छ । यस्तो देखि देखि आफू सिलौटा बनाउने काममा लागिन ।’ –विजयले सुनाए ।
विजय इन्टरनेट जोड्ने काम गर्छन् । त्यसबाट पनि घरखर्च चल्नेगरी कमाइ हुँदैन । बाआमाकै पेसा समाउन पनि सक्दैनन् । ‘बरु राज्यले ढुंगा कुद्ने काममा आधुनिक उपकरण दिने र विधि सिकाउने हो भने पत्थरकट्टकै काम गर्थे जस्तो लाग्छ ।’–उनले भने ।
समय गतिशील छ । समयसँगै नयाँ–नयाँ सूचना र प्रविधिको विकास हुन स्वभाविक छ । नयाँ प्रविधिले पुराना प्रविधि संकटमा पर्नु पनि अस्वभाविक हैन । तर यसले कसैको पुस्तैनी पेसा, व्यवसाय र रोजगारीको बाटो नै बन्द हुनु भने अस्वभाविक छ । कुसवाडिया अर्थात् पत्थरकट्ट समुदायमा पनि यस्तै भएको छ । आधुनिक प्रविधिको विकाससँगै उनीहरुको ढुङ्गाबाट मूर्ति बनाउँदै र सिलौटा बेच्दै गरेर गुजारा चल्न छोडेको छ । गुजारा धान्न गाह्रो भएपछि उनीहरु धेरैले पेसा छोडेर ज्याला मजदुरी गर्न थाले । त्यही ज्याला मजदुरी पनि गर्न नपाएपछि केही यतै अल्झेर बसेका छन् । त्यसमध्येका हुन्, अजय पत्थरकट्टा ।
सुस्ता गाउँपालिका वडा नं. १ का ३० वर्षीय अजय पत्थरकट्ट अहिले पनि ढुङ्गाबाट मूर्ति, लोहोरा र सिलौटा बनाउँदै आफ्नो जीवन बिताउँदै आएका छन् । उनी कलात्मक मूर्ति बनाउँछन् । एउटै मूर्ति बनाउन महिना दिन लाग्छ । ढुंगाको मूर्ति बनाउँदा काट्ने र कुद्ने आधुनिक उपकरण छैनन् । अजय अरुको सहारा लिन्छन् । अरुको सहारा लिए तिनिहरुलाई पनि बेचेको रकम बाँड्नुपर्दा आम्दानी अझ घट्छ ।
अजय आफूले बनाएका सामग्री आफैले बोकेर बेच्दै हिंड्नु पर्ने बाध्यता भएको सुनाउँछन् । कहिले पसलमा राखिदिन आग्रह गर्छन् । तर मेहनतअनुसार मूल्य पर्दैन । यसले निराशा बढाएको छ । अब के गर्ने उनी अन्योलमा छन् । ‘बुवाआमाको जीवन यसैमा बित्यो । मैले पनि बाल्यकाल र युवाकालका धेरै उमेर ढुंगा कुदेरै बिताए । अरु काम गर्नु सीप छैन । यही काम गरु आम्दानी छैन । सारै समस्या छ ।’–अजयले गुनासो पोखे ।
अजय अहिले तीन सन्तानको बाउ भएका छन् । उनीहरुलाई पालनपोषण र खानादाना उनकै आम्दानीले चलाउनुपर्छ । अजय दुःख भए पनि आफ्नो पुख्र्यौली पेसा छोड्ने पक्षमा छैनन् । स्थानीय सरकारले आधुनिक उपकरण दिने र बजारको पहल गरिदिने गरे यही कामलाई निरन्तरता दिने पक्षमा छन्, उनी । ‘ढुंगा कुद्ने कला हामीमा धेरै राम्रो छ । बजारमा अरुको भन्दा हाम्रो कला बिक्छ । तर आधुनिक उपकरण नहुँदा बनाउन धेरै समय लाग्छ । सरकारले आधुनिक उपकरण दिने र एक ठाउँमा बेच्ने व्यवस्था गरिदिए हामी यसमै रमाउने थियौं ।’–अजयले आफ्नो माग सुनाए ।
यस्तै रामग्राम नगरपालिका वडा नं. १ सहुवाटिकर निवासी हरि पत्थरकट्टसँग ढुङ्गाबाट मूर्ति बनाउने कला छ । उनलाई हरेक किसिमको मूर्ति बनाउन आउँछ । उनी अहिले उमेरले ४२ वर्ष पुगेका हुन । सानै हुँदा बाआमाले सिकाएका पुख्यौली पेसा ढुङ्गाबाट सिलौटा, जातोलगायत सामग्रीहरू बनाउँदै आएका उनी मूर्ति बनाउने काम पनि गर्दछन् । शिक्षाबाट वञ्चित रहेका हरि १० वर्षको उमेरदेखि नै आफ्नो पुख्र्यौली पेसालाई अंगाल्दै आएका छन् । सुकुम्बासीमा पाएको जग्गामा उनको पनि घर झरहि खोलाको छेउमा रहेको छ । इट्टाको पर्खाल रहेको टिनले छाएको आफैँले निर्माण गरेको घर छ । जग्गाको नाममा उनको त्यही मात्र जग्गा हो । उनको घरमा ७ जना परिवार रहेका छन्, जसमा २ छोरी र ३ छोरा गरी ५ सन्तान छन् ।
उनी पुख्र्यौली पेसाबाट नै आफ्नो परिवार धानिरहेका छन् । हरिले मूर्ति बनाउने काम गर्छन् भने उनकी श्रीमती सिलौटा बनाउने काम गर्छिन् । उनको महिनामा १५ देखि २० हजारको हाराहारीमा आम्दानी हुन्छ, तर पछिल्लो समयमा उनको यो पेसा धरासाइ भएको उनी बताउँछन् । दैनिक पेट पाल्ने यहि एउटा सीपले हो, तर अहिलेको आधुनिक समयमा यसको प्रयोग हराउँदै गएको हरि बताउँछन् । खेतबारी र अन्य कुनै सीप नहुँदा परिवार धान्न पनि गाह्रो हुँदै गएको उनको भनाइ छ । आफ्नो व्यापार पनि छैन । स्थानीय सरकारले नत कुनै सीपमूलक कार्यक्रम ल्याउँछ, नत केही तालिम नै, आफूले वर्षौंदेखि नै हातले मूर्ति बनाइ रहेको स्थानीय सरकारले आफ्नो पेसाको संरक्षणका लागि कुनै पहल गरेको अवस्था छैन । ढुङ्गा काट्न मेसिन छैन,२ दिनमा सकिने काम हप्ता दिनभन्दा बढी लाग्छ । आफूसँग सीपकला छ, तर प्रवद्र्धन गर्नको लागि कसैँबाट सहयोग नपाएको उनले दुखेसो पोखे ।
यस्तै सरावल गाउँपालिका वडा नम्बर ३ श्रीनगर कि ४५ वर्षीया अनरवा पत्थरकट्टाले आफू दैनिकी दुःख गर्दै घर–घरमा सिलौटा बेच्दै परिवार उकास्दै आएको, तर आफ्नो सन्तानलाई यो काम गर्न नदिएको उनी बताउँछिन् । उनको दुईवटा सन्तान छन् । उनले सिलौटा बेच्दै छोराहरूको शिक्षादिक्षा दिएकी छिन् । उनले एउटा छोरा करारमा जागिर खाँदै गरेको बताउँछिन्, अनि अर्को छोरा इञ्जिनियरिङ पढेकोले अहिले आफ्नै व्यापार व्यवसायमा लागेर घर बनाउने ठेक्कापट्टा काम गरेको उनी बताउँछिन् । ‘खोलाबाट ढुङ्गा ल्याउन दिँदैनन् । इन्डियाबाट ल्याउनुपर्छ त्यो पनि बिक्छ बिक्दैन ठेगान छैन,’– उनी भन्छिन् –‘अहिले डुङ्गा पनि पाउन एकदम कठिन भइसकेको छ । लाखौं खर्च गरेर इन्डियाबाट ढुङ्गा ल्याउनुपर्छ ल्याएको ढुङ्गा पनि नबिकेर त्यसै थन्किएको छ ।’ हाम्रा सिलौटाहरु बिक्री वितरण हुँदैन, आफूले पनि यो पेसा छोडिदिने बताउँछिन्, उनी । स्थानीय सरकारले सीपको संरक्षणको लागि पहलकदमी गरिदिन उनले माग गरिन ।
यस्तै लामो समयदेखि सिलौटाको व्यापार गर्दै आएका रामग्राम १७ बरारीका ४५ वर्षीय भीम पत्थरकट्टाको व्यापार नहुँदा उनी कम्पनीमा गएर काम गरिरहेका छन् । दुःख गरेर किनेर ल्याएको ढुङ्गा त्यत्तिकै छ, पेट पाल्न गाह्रो भएपछि आफ्नो पुख्र्यौली पेसा छोडेको उनी बताउँछन् । उनी ३० वर्षदेखि सिलौटा बनाउने पेसामै आश्रित रहेका थिए । उनी भन्छन्–‘पहिले व्यापार एकदमै राम्रो थियो । अहिले व्यापार नहुँदा सन्तानहरूहरुको भविश्यको लागि आफू कम्पनीतिर लागेको छु् ।’
यस्तै कुसवाडिया (पत्थरकट्ट ) सुमुदायको अगुवा एवं कुसुवाडिया उत्थान संघका जिल्ला अध्यक्ष प्रमोद कुसवाडियाले नेपाल सराकारले सुमदायलाई आरक्षण दिँदै आएको छ, तर आफ्नो समुदायमा चाहेको जस्तो विकास हुन पाएको छैन भन्दै उनले गुनासो गर्छन् । खासगरी आरक्षणको नाममा दिएको ४ हजार भत्ताले समुदायले के गरिरहेका छन् ? भन्ने कुराको खोजी सकारले नगरिंदा समुदाय पछि परेको उनी बताउँछन् ।
पत्थरकट्ट समुदायको अवस्था
पत्थरकट्टलाई कुसवाडिया पनि भनिन्छ । राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा उनीहरुको जनसंख्या ३ हजार ३८३ छ । उनीहरु आदिवासी जनजाति समुदायभित्र पर्ने लोपोन्मुख जातिमा सूचीकृत छन् । नेपालमा १० जिल्लामा पथरकट्टा समुदायको मुख्य बसोबास छ । उनीहरुको मूलथलो पश्चिम नवलपरासी, कपिलवस्तु, बाँके, बर्दिया, पूर्वी नवलपरासी, रुपन्देही, झापा मोरङ, बारा, रौतहट, पर्सा र सिरहा हो । कुसवाडिया जातिलाई मधेशको राउटे भनेर पनि चिनिन्छ । ढुंगा कुद्ने काम गर्ने भएकाले यी समुदायलाई पथरकट्ट भनिएको हो । विषेश गरेर यी समुदायलाई कुसबाधिया, कुचबडिया, धातुवाला, थबई थरले पनि चिनिन्छ । पश्चिम नेपालगञ्ज बाँकेमा कुसबाधिया, कुचबडिया भनेर चिनिन्छ । रुपन्देही, नवलपरासी र कपिलवस्तुमा पत्थरकट्ट भनेर चिनिन्छ । पूर्वमा झापा, मोरंङमा धातुवाला भनेर चिनिन्छ । सिरहा, सप्तरी र बारामा थबइ भनेर चिन्ने गरे पनि अहिलेका युवा पत्थरकट्ट होइन कुसवाडिया भन्न रुचाउँछन् । कुसवाडिया समुदायको सबैभन्दा धेरै जनसंख्या रुपन्देहीमा छ । त्यसछि दोस्रो पश्चिम नवलपरासीमा रहेको छ । नवलपरासीमा यि सममुदाय सक्रिय रहेका विशेष गरेर सुकुम्बासीमा, खोला नदीका किनारामा उनीहरुको बसोबास बढी रहेको छ ।
२०७८ सालको जनगणनाअनुसार पश्चिम नवलपरासीमा कुसवाडिया अर्थात् पत्थरकट्टा समुदायको जनसंख्या २७८ रहेको छ । त्यसमा महिला १४० र पुरुष १३८ जना रहेका छन् । जिल्लामा यी समुदायको ५४ घरधुरी रहेको छ । सबैभन्दा धेरै रामग्राममा २४ घरधुरीमा ८८ जना छन् । बर्दघाटमा ११ घरधुरीमा ४६ जना छन् । यस्तै, सरावलमा ४ घरधुरीमा २९ जना छन् । सुनवलमा ४ घरधुरीमा १७ जना र सुस्तामा ८ घरधुरीमा ३९ जना पत्थरकट्टा समुदायको बसोबास रहेको छ । यसैगरी, पाल्हीनन्दनमा ४ घरधुरी रहेकोमा २९ जनाको बसोबास रहेको छ । प्रतापपुरमा जम्मा एक घरधुरीमा ६ जनाको बसोबास रहेको छ ।
पत्थरकट्टालाई नेपाल सरकारले अल्पसंख्यकको सूचीमा राखेको छ । जनसंख्याको ०.०१ प्रतिशतभन्दा कम जनसंख्या हुने जाति अल्पसंख्यकको सूचीमा पर्छन् । कुसवाडिया जाति लोपोन्मुख समुदायभित्र पर्दछन् । उनीहरुलाई २०६२ सालमा लोपोन्मुख आदिवासी जनजातिको अल्पसंख्यक समूहमा सूचीकृत गरिएको थियो । कुसवाडिया उत्थान संघका केन्द्रीय अध्यक्ष राजु कुसवाडियाले यसपछि २०६२ सालमै बाँके जिल्लाको फुटकिल्वा भन्ने ठाउँबाट पत्थरकट्टा समुदायको विकास तथा स्तरउन्नतिको लागि नेपाल सरकारले मासिक सुरक्षा भत्ता दिन थालेको छ । उनीहरु प्रतिव्यक्ति मासिक चार हजार रुपैयाँको दरले सहयोग रकम पाउँछन् ।
सरकारले अल्पसंख्यक जातिका रुपमा मासिक जीवन निर्वाह रकम उपलब्ध गराएपछि पत्थरकट्टाहरु आर्थिक रूपमा असाध्यै गरिब छन् । अशिक्षित छन् । सामाजिक रूपमा उपेक्षित छन् । राजनीतिक रूपमा शक्तिहीन समुदायको रुपमा रहेका छन् । कुसवाडिया उत्थान संघका केन्द्रीय अध्यक्ष कुसवाडियाले भने–‘कुसवाडिया समुदायमा सामाजिक रुपमा गरिबी र अशिक्षा व्याप्त छ । आर्थिक अवस्था कमजोर हुँदा सुरक्षित बसोवास छैन । धेरैका घर सुकुम्बासी क्षेत्रमा छन् । तिनै पनि कच्ची फुसका छन् ।’
नदी छेउमा बसेका पत्थरकट्टाहरुको बस्ती सधैजसो वर्षामा बगाउँछ । हिउँदमा आगोले जलाउँछ । जंगल र नदी छेउमा बस्दै आएकाले वन्यजन्तुको पनि सधैँ जोखीम हुन्छ । तर, उनीहरुको सुरक्षित आवासबारे कसैले पहल नगरेको अध्यक्ष कुसवाडियाले बताए ।
शिक्षा
बालापनदेखि ढुंगा कुद्न थालेका युवा उमेरका धेरै कुसवाडियाले लेखपढ गर्न जान्दैनन् । बालबालिका भने पढ्न जान थालेका छन् । तर, नियमित जाँदैनन् । पढाइमा ध्यान नदिएपछि कक्षा दोहोराउनु पर्छ । कक्षा दोहोराउन परे विद्यालय नै छोडिदिन्छन् । विद्यालय तहको पढाइ पूरा गर्ने बालबालिका भेटिंदैनन् । ८, ९ कक्षा पढ्दा सबैजसोले पढाइ छोड्छन् । यही कारणले नवलपरासी पश्चिममा उच्च शिक्षा अध्ययन गर्ने पत्थरकट्टा कोही नभएको उनीहरु बताउँछन् । ‘पत्थरकट्टाको संरक्षण र पहिचान जोगाउने हो भने सरकारले पत्थरकट्टाका बालबालिकाको शिक्षा र युवाका लागि रोजगारी वा सीपको आधुनिकीकरणका लागि औजार र बजारीकरणमा सघाउनुुपर्ने देखिन्छ,’ पत्थरकट्टा युवा रामप्रित कुसवाडियाले भने–‘अब हामी बाआमाले जस्तो कुटो चलाएर होइन, औजार चलाएर ढुंगाबाट मूर्ति र उपकरण बनाउन चाहन्छौं ।’
स्थानीय सरकारको बेवास्ता
स्थानीय सरकारले पत्थरकट्टाका समस्या नबुझेका भने होइनन् । तर, समस्या समाधानमा आवश्यक लगानी भने गरेका छैनन् । सरावल गाउँपालिकाका अध्यक्ष सुखाडीप्रसाद चौधरीले पथरकट्टा समुदायलाई संघीय सरकारले नै मासिक भत्ता दिएकाले स्थानीय सरकारले थप दायित्व नलिएको उनले बताए । सरावल गाउँपालिकाका अध्यक्ष सुखाडीप्रसाद चौधरी आफू स्थानीय सरकारमा आएको २ वर्ष बित्यो । तर हालसम्म यी समुदायको लागि कुनै पनि काम गर्न नसकेको बताउँछन् । खासगरी कुसवाडिया समुदायलाई नेपाल सरकारले भत्ता दिएको हुनाले आफूहरूको नजर त्यसमा नपरेको आगामी दिनमा तिनीहरूको आवश्यकतालाई हेरी काम गर्नुपर्ने उनले बताए ।
रामग्राम नगरपालिकाका नगरप्रमुख धनपत यादवले पत्थरकट्टाहरु आफ्ना माग र समस्या लिएर नआउँदा के सहयोग गर्ने भन्ने अलमल भएको बताउँछन् । उनले तीन वर्ष अगाडि पेसा संरक्षणका लागि ढुंगा काट्ने मेसिन वितरण गरिएको जनाए । ‘पत्थरकट्टा अर्थात् कुसवाडिया समुदायमा कला निकै छ । उनीहरु राम्रा मूर्ति बनाउन सक्छन् । स्थानीय तहमा समन्वय गर्न आए मूर्ति निर्माण र बजारीकरणमा सघाउन सक्छौं ।’–अध्यक्ष यादवले भने ।