परासी । पश्चिम नवलपरासीमा आज माघी पर्वको सुरुवात गरिएको छ। जिल्लाका विभिन्न स्थानहरूमा थारु समुदायहरूले माघी पर्वको सुरुवात गरेका हुन् । जिल्लाको सरावल गाउँपालिका वडा नम्बर २ मनरी, प्रतापपुर गाउँपालिकाको चौपत्ता, रामग्राम नगरपालिकाको वडा नम्बर १४ र १८ तथा पाल्हीनन्दन गाउँपालिकाको वडा नम्बर २ मा माघी पर्वको सुरुवात गरिएको हो ।
मङ्गलबार भोलि माघी पर्वको मुख्य दिन भएपनि आजैदेखि यी स्थानहरूमा महोत्सवको रुपमा पर्वको सुरुवात गरिएको स्थानीय आयोजकले बताएका हुन् ।
सरावल गाउँपालिका वडा नम्बर २ थारु सांस्कृतिक पार्क मनरीमा उन्नाइसौँ माघी खिचडी महोत्सव एक कार्यक्रमका बीच शुभारम्भ भएको छ। श्रीराम युवा प्रतिष्ठानका अध्यक्ष चक्रमणि चौधरीको अध्यक्षता र नेपाल सरकार उद्योग विभागका महानिर्देशक राजेश्वर ज्ञवालीको प्रमुख आतिथ्यमा महोत्सवको शुभारम्भ गरिएको छ।
त्यसअघि सरावलका विभिन्न गाउँ तथा टोलहरूबाट निस्केका परम्परागत झाँकी सहितको कलश यात्रा सम्पन्न गरिएको थियो। सो अवसरमा श्रीराम युवा प्रतिष्ठानले आयोजना गरेको रक्तदान कार्यक्रममा एक महिलासहित ३४ जनाले रक्तदान गरेका छन्।
सो अवसरमा सरावल गाउँपालिकाका अध्यक्ष सुखाडी प्रसाद चौधरी, उपाध्यक्ष बासमती हरिजन, पूर्व अध्यक्ष राधेश्याम चौधरी पूर्व उपाध्यक्ष उत्तमा राय, वडा नम्बर २ का कार्यवाहक वडा अध्यक्ष तुफानीलाल गुप्ता, वडा नम्बर ३ का वडा अध्यक्ष फिरङ्गी चौधरी, जनता माध्यमिक विद्यालय का पूर्व प्रधानाध्यापक मोहनप्रसाद शर्मा, थारु कल्याणकारी सभाका केन्द्रीय पार्षद कृष्णदत्त थारु, प्रतिष्ठानका सल्लाहकार संजय चौधरी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको छ।
यसैबीच रामग्राम १४ र १८ मा माघी पर्व खिचडी महोत्सवको अवसरमा विविध कार्यक्रमको शुभारम्भ गरिएको छ । दुईवटै वडामा सम्पन्न कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं पूर्व गृह राज्यमन्त्री देवेन्द्रराज कण्डेलको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा स्थानीय मुक्ति चौधरी, शत्रुधन चौधरी लगायतले अगुवाई गर्नुभएको हो ।
कार्यक्रममा लुम्बिनी प्रदेशका सांसद बैजनाथ कलवार, वडा नम्बर १४ का अध्यक्ष ओम प्रकाश यादव र वडा नम्बर १५ का अध्यक्ष धनपत यादव लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको पूर्व गृहराज्यमन्त्री कण्डेलका सोकीय सचिव कमल किशोर रायमाझीले हामीलाई जानकारी दिनुभयो ।
उता प्रतापपुरको चौपत्तामा पनि प्रत्येक वर्ष जस्तै यस वर्ष पनि मङ्गलबारदेखि २ दिनसम्म खिचडी महोत्सवको आयोजना गरिएको छ। रस्सा तान, भलिबल लगायत विविध सांस्कृतिक कार्यक्रम गरी महोत्सव गर्न लागिएको स्थानीय आयोजक संस्थाले जनाएको छन् ।