मञ्जु यादव । २७, पुष
विसं २०७५ सालमा स्थापना भएको यातायात व्यवसायीहरूको छाता संगठन पाल्ही मध्य नेपाल यातायात प्रा लि सुनवलको छैठौं वार्षिक साधारण सभा शनिबार सुनबलमा सम्पन्न भएको छ। प्रा. लिका अध्यक्ष ऋषिराम पौडेलको अध्यक्षता र प्रा लि का पूर्व सञ्चालक एवं लुम्बिनी प्रदेश सभाका सांसद बैजनाथ कलवारको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको हो।
सो अवसरमा सांसद कलवारले पर्यटन र यातायातलाई जोड्न सके मात्र नवलपरासीको समग्र विकास हुने धारणा व्यक्त गर्नुभएको छ। आफू उद्योग वाणिज्य सङ्घ नवलपरासीको नेतृत्वमा रहँदा जिल्लालाई सडक सञ्जालले जोड्ने, महेशपुर भन्सार नाकादेखि सुनवलको महलपोखरी हुँदै पाल्पा र पोखरासम्म सडक विस्तार गर्ने एजेण्डा आज पनि बोकेको बताउनु भयो ।
कार्यक्रममा सुनवल नगरपालिकाकी नगरप्रमुख बिमला अर्यालले सुनवलमा बस पार्क निर्माणको पहल भइरहेको बताउनुभएको छ। उहाँले सोमनाथ खोलाको छेउमा बसपार्कको सम्भाव्यता अध्ययन भइरहेको बताउनु भयो । सम्पन्न साधारण सभामा पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ता दीपक, सुनवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष रमेश कर्मचार्य, सामुदायिक रेडियो परासी ९०.२ मेगाहर्जका प्रबन्ध निर्देशक मेघराज गौतम लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
छैठौँ साधारण सभामा संस्थाले आर्थिक वर्ष २०८०/ २०८१ को वार्षिक आम्दानी र खर्च विवरण प्रस्तुत गर्दै कुल १५ लाख ३९ हजार ३४९ शुद्ध बचत गर्न सफल भएको जनाएको लेखापाल दिपेन्द्र थापा मगरले बताउनु भयो ।
सुनवल नगरपालिका वडा नम्बर ४ मा मुख्य कार्यालय रहेको प्रालिले सुनवल, परासी, खैरेनी र बर्दघाटमा पनि आफ्नो शाखा सञ्चालन गरेको छ। प्रा. लिमा साना, मझौला र ठूला गरी ११९ वटा गाडी सञ्चालनमा रहेका छन्। नवलपरासी जिल्लाका परासी, त्रिवेणी, बेलवानी, बर्दघाट, चिमनटोला र महेशपुर तथा भैरहवा र बुटवल क्षेत्रमा पनि गाडी सञ्चालन गरिएको प्रा.लि का अध्यक्ष पौडेलले बताउनुभयो ।
संस्थाको छैठौँ साधारण सभामा संस्थाका सचिव कन्हैया चौधरी, अनिता दवाडी तिवारी लगायतले शुभकामना व्यक्त गर्नुभएको सदस्य सचिव सन्जु थापाले जानकारी दिनुभयो।