परासी । जिल्ला सहकारी संघ नवलपरासीको ४३ औं बार्षिक साधारण सभा शनिवार सुनवलमा सम्पन्न भएको छ । संघका अध्यक्ष विष्णुप्रसाद पौडेलको अध्यक्षता र जिल्ला समन्वय समिति नवलपरासीका प्रमुख भगौतीप्रसाद यादव रुदलको प्रमुख आतिथ्यमा साधारण सभा सम्पन्न भएको हो ।
संघको ४३ औं साधारण सभामा अध्यक्ष पौडेलले अध्यक्षको प्रतिवेदन, सचिव चण्डीप्रसाद पाण्डेले साँगठनीक प्रतिवेदन, कोषाध्यक्ष हैदरअलि मोमिनले कोषाध्यक्षको प्रतिवेदन र लेखा संयोजक दीर्घजीवि पोख्रेलले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । साधारण सभामा प्रस्तुत भएका सवै प्रतिवेदनहरु सभाले पास गरेको सचिव पाण्डेले जानकारी दिनु भयो ।
संघको आर्थिक बर्ष २०८०।०८१ मा कुल ४९ लाख ५३ हजार ९९० रुपैया आम्दानी भएको र ५२ लाख ४६ हजार १८५ रुपैया खर्च भएको कोषाध्यक्ष मोमिनले प्रस्तुत गर्नु भएको प्रतिवेदनमा उल्लेख छ । यसरी हेर्दा संघलाई आर्थिक बर्ष २०८०।०८१ मा कर अघि २ लाख ९२ हजार १९५ रुपैया घाटा भएको छ ।
सो अवसरमा नवलपरासी बचत तथा ऋण सहकारी संघका अध्यक्ष राजनकुमार आचार्य, लुम्बिनी सुनवल साकोसका अध्यक्ष लेखनाथ न्यौपाने, ग्रामीण वाल्मीकी साकोसका अध्यक्ष रविन्द्र विक्रम हमाल, सुनवल सहकारी सञ्जालका अध्यक्ष दयाराम भण्डारी लगायतले शुभकामना व्यक्त गर्नु भएको थियो ।
साधारण सभामा जिल्ला सहकारी संघले सञ्चालन गरेको शित भण्डार र सहकारी संघसंस्थाको अवस्था र आवद्धताबारे जानकारी गराइएको छ । यसै क्रममा नवलपरासी जिल्लामा रहेका कुल २२३ वटा सहकारी मध्ये जिल्ला सहकारी संघमा १८४ वटा सहकारी मात्र आवद्ध रहेका छन् । संघले सुनवल नगरपालिका वडा नं. २ मा शित भण्डार सञ्चालनमा ल्याएको छ । सित भण्डारमा लगानी गर्ने सहकारीको संख्या ७९ रहेको अध्यक्ष पौडेलले बताउनु भयो । सित भण्डार २०७६ सालदेखि निर्माण शुरु भई २०८० फाल्गुन १५ गतेदेखि सञ्चालनमा आएको हो ।
संघले सञ्चालन गरेको शित भण्डारको कुल क्षमता ३ हजार मेट्रिकटन रहेकोमा अहिले १५ प्रतिशत मात्र खपत भएको संघका व्यवस्थापक जयशेषमणी पटेलले बताउनु भयो । शित भण्डारमा हाल अर्घाखाँचीको सुन्तला, मनाङ्ग र चाइनाको स्वाउ, जुनार र देवदह नगरपालिकाको ध्यू सिमी राखिएको छ । संघले विभिन्न सहकारी, कृषक र व्यापारीलाई सित भण्डारको प्रयोग गरी व्यवसायिक लाभ लिन आब्हान समेत गरेको छ ।