परासी । कुनै पनि खेलको विकासकालागि पूर्वाधार, प्रतियोगिता, प्रशिक्षण र पुरस्कार आवश्यक पर्ने बिहिवार परासीमा आयोजित एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । रामग्राम नगर भित्रका सामुदायिक र संस्थागत विद्यालयहरुको प्रतिस्पर्धात्मक खेल राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको समुदघाटन कार्यक्रमा बोल्ने बक्ताहरुले यस्तो बताएका हुन् ।
रामग्राम नगरपालिकाको आयोजना र जनता माध्यमिक विद्यालय लक्ष्मिपुरको संयोजनमा बिहिवारदेखि तेश्रो राष्ट्रपति रनिङ लिल्ड प्रतियोगिता शुरु गरिएको छ । नगरप्रमुख धनपत यादवको अध्यक्षता र जिल्ला समन्वय समितिका प्रमुख भगौती यादव रुदलको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको हो ।
नगरपालिकाले तेश्रो पटक गर्न लागेको प्रतियोगितामा भलिबल, कवड्डी, विभिन्न मिटरका दौड, उफ्रिने फ्याक्ने (हाइजम्म, लङजम्प, ट्रिपल जम्प, सटफूट) मार्सल आर्ट तर्फ तेकवान्दो जस्ता खेल समावेश गरिएको जनता माध्यमिक विद्यालय लक्ष्मिपुरका प्रधानाध्यापक इन्द्रकमल यादवले जानकारी दिनुभयो । वडा नं. १० स्थित लंकहवा खेल मैदानमा प्रतियोगिता शुरु गरिएको छ । रामग्राम नगरभित्रका १९ वटा सामुदायिक र संस्थागत विद्यालयहरुको सहभागी रहेको बताइएको छ ।
कार्यक्रममा नगरउपप्रमुख संझना चौधरी, प्रमुख जिल्ला अधिकारी स्कीम श्रेष्ठ, नेपाली काँग्रेस नवलपरासीका कार्यवाहक सभापती विक्रम यादव, नेकपा एमालेका जिल्ला उपाध्यक्ष डोलराज भण्डारी, जसपा नेपालका जिल्ला अध्यक्ष धरेन्द्र यादव, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यमबहादुर कुँवर लगायतले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको शुभकामना व्यक्त गर्नु भएको छ ।
प्रतियोगिता आगामी पुष १४ गतेसम्म संचालन हुने रामग्राम नगरपालिकाका शिक्षा अधिकृत सुन्दर खनालले जानकारी दिनुभयो ।