परासी । “हिन्दा हिन्दै लोटें, देब्रे हात र खुट्टामा सामान्य चोट लागेको हो, पछि चल्नै छोडेकोले निक्कै दुःख पाएकी छु, ‘ह्वील चियर’ पाउँदा खुसी लागेको छ” भन्नु हुन्छ रामग्राम नगरपालिका वडा नं. १८ निवासी ६९ बर्षिय चन्द्रकुमारी कुँवर । उहाँलाई बिगत ७ बर्षदेखि समस्या भएको हो ।
यस्तै, रामग्राम १८ कै १८ बर्षिय निरज चौधरी सामान्य बोल्ने तर हिंडडुल गर्न नसक्ने अवस्थामा हुनुहुन्छ, विगत १० बर्षदेखि उहाँलाई त्यो समस्या आएको हो । चौधरीकी आमा गिताले छोरोको अवस्था सुधार गर्न निकै प्रयत्न गरेको तर अवस्थामा सुधार नआएको बताउनु हुन्छ । “छोरालाई भैरहवा मेडिकल कलेजमा उपचार गराउँदा डाक्टरले नियमित उपचार र थेरापी गरे निको हुने भनेका थिए, तर पैसाको अभावमा नियमित उपचार गर्न सकेनौ” गिताले भन्नुभयो ।
रामग्राम १८ की चन्द्रकुमारी र निरज चौधरी जस्तै अन्य तीन जना ( १० बर्षका संगम चौधरी, १२ बर्षका रोहित, ४४ बर्षिय श्रीमती थारु) को पनि उस्तै कथा छ तर हिंडडुल गर्न ‘ह्वील चियर’ पाए पछि भने उनीहरु खुसी भएका छन् ।
रोटरी क्लब अफ नवलपरासी र थारु कल्याणकारी सभा वडा समिति रामग्राम १८ को सहकार्यमा बुधवार अपाङ्गता भएका व्यक्तिहरूलाई ‘ह्वील चियर’ वितरण कार्यक्रममा सहभागी व्यक्तिहरुले आफ्नो दुःख व्यक्त गरे । ५ जना अपाङ्गता भएका व्यक्तिहरुलाई बुधवार ‘ह्वील चियर’ वितरण पछि उनीहरुले यस्तो बताएका हुन् ।
क्लबले आफ्नो स्थापना कालदेखि नै सिग्नेचर प्रोजेक्टको रुपमा ‘ह्वील चियर’ वितरणलाई महत्वपूर्ण कार्यक्रमको रुपमा गर्दै आइरहेको छ । यसअघि क्लवले रामग्रामका अन्य वडाहरु, सुनवल नगरपालिका, सरावल गाउँपालिका र पाल्हीनन्दनका विभिन्न वडामा ३५ वटा ‘ह्वील चियर’ र १० वटा ‘ट्राइसाइकल’ अपाङ्गता भएका व्यक्तिहरुलाई सहज जीवन शैली अपनाउन वितरण गरिसकेको छ ।
थारु कल्याणकारी सभा रामग्राम १८ वडा समितिका अध्यक्ष टिकाकुमारी चौधरीको अध्यक्षता एवं रोटरी क्लब अफ नवलपरासीका संस्थापक अध्यक्ष सुमनगोपाल आचार्यको प्रमुख आतिथ्यमा ‘ह्वील चियर’ वितरण गरिएको हो ।
कार्यक्रममा थारु कल्याणकारी सभा नवलपरासीका जिल्ला अध्यक्ष मुन्द्रीकाप्रसाद चौधरी, रोटरी क्लब अफ नवलपरासीका अध्यक्ष सुनिल कसौधन, क्लवका ईलेक्ट अध्यक्ष उर्मिला बानिया, वडा नम्बर १८ का कार्यवाहक वडा अध्यक्ष त्रिवेणीप्रसाद चौधरी, कल्याणकारी सभाका सदस्य मनोजकुमार चौधरी, हरिनारायण थनेत लगायतले अपाङ्गता भएका व्यक्तिलाई थप अवसर प्रदान गर्नु पर्नेमा जोड दिएका छन् ।