परासी । इन्द्रेणी सामाजिक विकास मञ्चले शुक्रवार सामाजिक परिक्षण कार्यक्रम प्रतापपुरमा सम्पन्न गरेको छ । सन् २०२४ मा सम्पन्न गरेका परियोजनाहरुको सामाजिक परिक्षण गरिएको संस्थाले जनाएको हो ।
इन्द्रणी सामाजिक विकास मञ्चका अध्यक्ष होमराज कुँवरको अध्यक्षता र प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवको प्रमुख आतिथ्यमा सामाजिक परिक्षण कार्यक्रम गरिएको हो । अध्यक्ष यादवले सामाजिक परिक्षण संस्थाकालागि विश्वास र साख स्थापित गर्ने महत्वपूर्ण प्रकृया भएको बताउनु भयो । उहाँले सामाजिक परिक्षणले परियोजनाहरुको सामाजिक प्रभाव, पारदर्शिता, जवाफदेहिता र समावेशीकरणको सम्बन्धलाई प्रगाढ बनाउन र पारदर्शिता बढाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास ब्यक्त गर्नु भयो ।
यस्तै कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष मानकुमारी चौधरीले समूदायले विकास निर्माण र अभियानहरुलाई अपनत्व लिन सक्नु पर्ने बताउनु भयो । उहाँले समूदाय परिचालनको माध्यमबाट खानेपानी र सरसफाई क्षेत्रमा परिवर्तन गर्न सकिने विश्वास व्यक्त गर्नु भयो ।
संस्थाले प्रतापपुर र पाल्हीनन्दनमा सञ्चालन गरेका तीन वटा परियोजनाहरुको सामाजिक परिक्षण गरेको हो । संस्थाले प्रतापुरमा बाल अधिकार परियोजना, पुर्नजिवन परियोजना र एकिकृत ग्रामीण स्वास्थ्य परियोजना सञ्चालन गरेको छ भने पाल्हीनन्दनमा एकीकृत ग्रामीण स्वास्थ्य परियोजना सञ्चालनमा छ ।
कार्यक्रममा इन्द्रेणी सामाजिक विकास मञ्चका कार्यकारी निर्देशक पुष्पराज आचार्य, बाल अधिकार परियोजनाकी संयोजक विना चौधरी, पुर्नजीवन परियोजनाकी संयोजक अर्चना आचार्य र एकिकृत ग्रामीण स्वास्थ्य परियोजनाकी संयोजक सपना श्रेष्ठले विषयगत प्रस्तुतिकरण गर्नु भएको थियो ।
कार्यक्रममा समूदाय स्तरबाट परियोजनाहरुको प्रभावको बारेमा छलफल भएको छ । सहभागी अधिकांशले प्रतापपुरको खानेपानी र सरसफाईको विषयमा कुरा उठाएका छन् । खुल्ला दिसा गर्ने वानी वढ्दै गएको, शुद्ध खानेपानीको पहुँच नहुनु, खानेपानी र सरसफाईमा आनिवानीमा परिवर्तन हुन नसकेको जस्ता विषयमा कुरा उठाएका थिए ।
सो कार्यक्रममा वडा नं. ३ का अध्यक्ष ऋषिदेव पटेल, युनाइटेड मिसन टु नेपालका पुर्नजीवन परियोजनाका सम्पर्क व्यक्ति रामशरण श्रेष्ठ, पाल्हीनन्दन आयुर्वेद शाखाका प्रमुख रामएकवाल राय, प्रतापपुर गाउँपालिका स्वास्थ्य शाखा प्रमुख संजय कुमार शर्मा लगायतले तीन वटै परियोजनाका विषयमा विभिन्न सुझाव व्यक्त गरेको इन्द्रेणीका सामाजिक परिचालक नारायण भण्डारीले जानकारी दिनु भयो ।
युनाइटेड मिसन टु नेपालको सहयोगमा इन्द्रेणी सामाजिक विकास मञ्चले संचालन गरेका तीन वटा परियोजनाको सामाजिक लेखापरिक्षण सामुदायिक रेडियो परासी ९०.२ मेगाहर्जका प्रवन्ध निर्देशक मेघराज गौतमले गर्नु भएको हो ।