परासी । द लेप्रोसी मिसन नेपालले आज परासीमा जिल्ला स्तरीय समन्वयन बैठक सम्पन्न गरेको छ । “कुष्ठरोग रहित समाज” स्थापनाको लक्ष्यका साथ नवलपरासीमा काम अगाडि बढाइएको संस्थाले जनाएको छ । समन्वय वैठकमा संस्थाले एकिकृत कुष्ठरोग तथा अपांगता कार्यक्रम अन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पश्चिममा )जिल्लामा संचालन हुन गहिरहेका आर्थिक उत्थानशीलता परियोजना, कुष्ठरोग नियन्त्रण परियोजना र सहकारी फलो-अप परियोजना सन् २०२४ नोभेम्बरदेखि २०२९ जुनसम्म चल्ने जानकारी गराइएको थियो ।
जिल्ला समन्वय समिति नवलपरासीका प्रमुख भगौती यादवको अध्यक्षतामा सम्पन्न बैठकमा संस्थाको तर्फबाट परियोजना प्रमुख सुमन ज्ञवाली, मेडिकल अधिकृत डा. स्वर्णिम ज्ञवाली, स्वास्थ्य अधिकृत जनक काफ्ले र परियोजनाका जिविकोपार्जन अधिकृत सुमन पराजुलीले प्रस्तुतिकरण गर्नु भएको हो ।
समन्वय वैठकमा लुम्बिनी प्रदेश स्वास्थ्य निदेशानालय, जिल्ला स्थित कृषि, स्वास्थ्य, शिक्षा, धरेलु तथा साना उधोग, पशु साथै पालिकाबाट प्रमुखहरु, उपप्रमुखहरु, स्वास्थ्य शाखाका प्रमुख, संघसंस्थाका प्रतिनिधि, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा सरावल गाउँपालिकाका अध्यक्ष सुखाडिप्रसाद चौधरी, बर्दघाट नगरपालिकाका उपप्रमुख रुद्रप्रकाश उपाध्याय, लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ स्वास्थ्य प्रशासक रोशनलाल चौधरी, पत्रकार महासंघ नवलपरासीका अध्यक्ष केशव पराजुली लगायतले बोल्दै कार्यक्रमलाई एकद्वार प्रणालीबाट सञ्चालन गर्नु पर्ने सुझाव दिएका छन् ।
द लेप्रोसी मिसन नेपालले कुष्ठरोगीको उपचार साथै कुष्ठ प्रभावितको जीवनमा सुधार ल्याउने उद्देश्यका साथ परियोजना लागू भएको जनाएको छ ।
संस्थाले नवलपरासी(बर्दघाट सुस्ता पश्चिम) जिल्लाका रामग्राम नगरपालिका, बर्दघाट नगरपालिका, पाल्हीनन्दन र प्रतापपुर गाउँपालिकामा कुष्ठरोग नियन्त्रण र लक्षित समुदायको आर्थिक उत्थानशीलता प्रवर्धन गर्ने साथै सुनवल नगरपालिका र सरावल गाउँपालिकामा यस संस्था मार्फत स्थापना भएका स्वय सहायता समूह र सहकारीको क्षमता अभिबृद्धि गर्ने उद्देश्यले परियोजना सञ्चालन गरिएको संस्थाका प्रमुख ज्ञवालीले जानकारी दिनुभयो ।