नेपाल पत्रकार महासंघको अध्यक्षमा निर्मला शर्मा निर्वाचित हुनु भएको छ । नेपाल पत्रकार महासंघको करिव ७० बर्षको इतिहासमा पहिलो पटक महिला पत्रकार केन्द्रीय अध्यक्ष बन्नु भएको हो । नेकपा एमाले निकट प्रेस चौतारी र नेपाली काँग्रेस निकट पत्रकारहरुको संगठन नेपाल प्रेस युनियनको संयुक्त व्यावसायिक प्यानलबाट उम्मेदवारी दिनु भएकी शर्मा अध्यक्षमा निर्वाचित हुनु भएको हो । शर्मा प्रेस चौतारीमा आवद्ध रहनु भएको छ । आइतबार राति केन्द्रीय निर्वाचन समितिले शर्मा अध्यक्षमा निर्वाचित हुनु भएको घोषणा गरेको हो ।
अध्यक्षमा निर्वाचित शर्माले ४ हजार २८२ मत प्राप्त गर्दा उहाँको निकटतम् प्रतिस्पर्धी रमेश विष्टले ३ हजार २०३ मत प्राप्त गर्नु भएको छ । विष्टले प्रेस सेन्टर नेपाल, प्रेस युनियन असन्तुष्ट समूह लगायत संगठनबाट श्रमजीवी पत्रकारको प्यानल खडा गरेर चुनाव लड्नु भएको थियो ।
यस्तै वरिष्ठ उपाध्यक्षमा ४ हजार २३० मत ल्याएर दीपक आचार्य विजयी भए भने निकटतम प्रतिस्पर्धी रोशन पुरीले २ हजार ८८६ मत प्राप्त गर्नु भएको छ । त्यस्तै उपाध्यक्ष महिलातर्फ नितु पण्डित विजयी हनु भएको छ । उनले ४ हजार ७०५ मत पाउनु भएको छ ।
समावेशी उपाध्यक्ष उमेद बागचन, उपाध्यक्ष नितु पण्डित, महासचिव रामप्रसाद दाहाल, सचिव रमेश खतिवडा, महिला सचिव सोनी शर्मा, जनजाती सचिव सविन प्रियासन, मधेश सचिव अशोक तिवारी, दलित सचिव प्रकाश धौलाकोटी, एसोसिएट बैकुण्ठराज पराजुली, कोषाध्यक्ष रामकृष्ण अधिकारी निर्वाचित भएको निर्वाचन समितिका संयोजक एवं प्राध्यापक चिरन्जिवी खनालले जानकारी दिनु भयो ।
पत्रकार महासंघको २७औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि शुक्रबार केन्द्रीय समिति, प्रदेश समिति, जिल्ला शाखा र ४१ प्रतिष्ठान शाखाको नेतृत्व चयनका लागि निर्वाचन भएको थियो ।