परासी । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको आज १५ औं दिन, नवलपरासीको सुनवलमा आइतवार लैङ्गिक समानताका लागि नीतिगत पैरवी सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ । “हामी सबैको प्रतिवद्धता, लैङ्गिक हिंसा विरुद्धको एक्यवद्धता” भन्ने अभियानका साथ अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
सुनवल सामुदायिक विकास केन्द्रकी अध्यक्ष सपना अधिकारी थापाको अध्यक्षता र नेपाल सरकारका बन तथा वातारण राज्यमन्त्री रुपा वि.कको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । सो अवसरमा राज्यमन्त्री बि.क.ले समाजमा देखिने विभिन्न खाले हिंसाको अन्त्यका लागि राज्यले लैङ्गिक मैत्री नीति बनाउनु पर्ने बताउनु भयो ।
कार्यक्रममा सहभागी महिलाहरुले लैङ्गिक हिंसाको अन्त्यको लागि सवैको प्रतिवद्धता र एक्यवद्धता हुनु पर्नेमा जोड दिएका छन् । उनीहरुले महिलाको सामाजिक, राजनीतिक र आर्थिक अवस्था कमजोर भएकोले महिलाहरु समाजमा हिंसामा परेको बताएका हुन् ।
सहभागी महिलाहरुले सभाहलमा कार्यक्रम गर्दैमा हिंसा अन्त्य नहुँने हुँदा सरकार र सरोकारवालाहरु गंभीर भएर लाग्नु पर्ने बताएका छन् ।
कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका पूर्व मन्त्री खड्ग वस्नेत, साँसद विश्व प्रेम पाठक, संविधान सभा सदस्य विक्रम खनाल, सुनवल नगरपालिकाकी नगरप्रमुख विमला अर्याल, नवलपरासी जिल्लाका प्रमुख जिल्ला अधिकारी स्कीम श्रेष्ठ, समाज सेवी मनशोभा पाण्डे, ज्यामिरे सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष टिचन गुरुङ्ग, नवलपरासीकी पहिलो महिला पत्रकार शान्ता भण्डारी, स्थानीय महिला उद्यमी लक्ष्मी पोखरेल, शोभा ढकाल लगायतले लैङ्गिक हिंसा विरुद्धको अभियानलाई सशक्त ढंगले अगाडि बनाउनु पर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा सुनवल सामुदायिक विकास केन्द्रकी सूचना अधिकारी राधा सापकोटाले स्वागत मन्तव्य व्यक्त गर्नु भएको कार्यक्रम संस्थाका सचिव जयराम वश्यालले सञ्चालन गर्नु भएको हो ।