परासी । ३३ औं अन्तराष्ट्रिय अपाङ्गता दिवस आज नवलपरासी जिल्ला पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । “समावेशी तथा दीगो भविश्यको पूर्वाधार, अपाङ्गता भएका व्यक्तिहरुको प्रवल नेतृत्व यसको आधार” भन्ने नाराका साथ दिवस मनाइएको हो ।
मंगलबार पाल्हीनन्दनमा अपाङ्गता भएका व्यक्तिहरुलाई सम्मान गरी दिवस मनाइएको छ । पाल्हीनन्दन गाउँपालिकाकी उपाध्यक्ष फातिमा खातुन अन्सारीको अध्यक्षता र गाउँपालिकाका अध्यक्ष बैजु प्रसाद गुप्ता दिपकको प्रमुख आतिथ्यमा अपाङ्गता दिवस मनाइएको हो ।
कार्यक्रममा बालविवाह, लैङ्गिक हिंसा र दाईजो प्रथा तथा लागू पदार्थ दुव्र्यशन सम्बन्धी सचेतनामूलक सडक नाटक प्रस्तुत गरिएको थियो । दिवसको अवसरमा विभिन्न वडाहरुमा भएको अपाङ्गता खेलकूद कार्यक्रममा विजय खेलाडिहरुलाई पुरस्कार पनि प्रदान गरिएको सुनवल सामुदायिक विकास केन्द्रका सामाजिक परिजान बृजेश शर्माले जानकारी दिनु भयो ।
कार्यक्रममा गाउँकार्यपालिका सदस्य अनामिका हरिजन, अनिता साहानी, अपाङ्गता अधिकार प्रवद्र्धत समितिका अध्यक्ष दिनेश चमार लगायतले बोल्दै अपाङ्गता भएका व्यक्तिहरुको अधिकारको पैरवी गर्नु भएको थियो ।
रामग्राम नगरपालिकामा पनि अपाङ्ग एवं अभिभावक संघको आयोजनामा दिवस मनाइएको हो । संघका अध्यक्ष रामरतन हरिजनको अध्यक्षता र रामग्राम नगरपालिकाका नगरप्रमुख धनपत यादवको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको छ । सो अवसरमा नगरभित्रका विभिन्न अपाङ्गता भएका व्यक्तिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा नगरउपप्रमुख संझना चौधरी, वडा नं. १२ का अध्यक्ष लोकवहादुर चौधरी लगायतले बोल्नु भएको थियो ।
बर्दघाटमा पनि अपाङ्गता दिवस मनाइएको छ । सामुदायिक अपाङ्गता सेवा केन्द्र नेपाल बर्दघाटको आयोजना र बर्दघाट नगरपालिकाको आर्थिक सहयोग तथा अन्य सामाजिक संघ–संस्थाहरुको सहकार्यमा ३३ औं अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइएको हो ।
बर्दघाट नगरप्रमुख शम्भुलाल श्रेष्ठले अपाङ्गता भएका ब्यक्तिहरुलाई नगरका कुनैपनि स्वास्थ्य संस्थाहरुमा निःशुल्क स्वास्थ्य उपचार र ल्याब परिक्षणको ब्यवस्था मिलाएको जानकारी दिनु भयो । नगरमा हालसम्म ६ सय २ जना बिभिन्न खालका अपाङ्गता व्यक्तिहरु सुचिकृत गरी कार्ड वितरण गरिएको छ ।
यस्तै प्रतापपुर गाउँपालिकामा पनि विभिन्न कार्यक्रमको आयोजना गरी अपाङ्गता दिवस मनाइएको छ । सुनवल सामुदायिक विकास केन्द्रको आयोजनामा अपाङ्गता दिवस मनाइएको संस्थाकी राधा सापकोटाले जानकारी दिनु भयो ।